प्राकृतिक विपद्ले नेपाल र चीन दुवै देशको सीमावर्ती हिमाली क्षेत्रलाई एकैपटक चुनौती दिइरहेका बेला उद्धार तथा खोजी अभियान सञ्चालन गर्ने दुई देशको तयारी र कार्यशैलीमा भने ठूलो अन्तर देखिएको छ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक भीषण पहिरोका कारण अवरुद्ध भएपछि चीनले ठूलो जनशक्ति र भारी उपकरण तत्काल घटनास्थलमा परिचालन गरेर सडक सम्पर्क पुनःस्थापनाको काम अघि बढाएको छ।
उता उत्तरी नेपालमा हिमनदीजन्य बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा खोज तथा उद्धार अभियानसँगै सडक, सञ्चार र अन्य पूर्वाधार पुनःस्थापनाको काम अझ चुनौतीपूर्ण बन्दै गएको छ।
चीनको क्षेत्रीय सरकारले दिएको पछिल्लो विवरणअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरोमा १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल सीमाक्षेत्रतर्फ बगेपछि केही मिनेटमै ठूलो क्षति भएको थियो।
यस्तो जटिल परिस्थितिमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण तत्काल घटनास्थलमा पठाएको छ। उद्धारकर्मीले प्रमुख सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गको क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने तथा सडक खुलाउने कामलाई प्राथमिकता दिएको चिनियाँ समाचार संस्था सीसीटीभी प्लसले जनाएको छ ।
सोमबार दिउँसो १२ बजेसम्म सडक पूर्ण रूपमा खुलाउनुपर्ने स्थानबाट करिब १.१ किलोमिटर दूरीसम्म अवरोध हटाउने काम अघि बढिसकेको थियो। अर्थात् चीनले उद्धारलाई केवल बेपत्ता तथा घाइतेको खोजीमा सीमित नगरी पहुँच मार्ग खुलाउने कामलाई पनि उद्धारकै अभिन्न अंग बनाएर अघि बढाएको देखिन्छ।
जोखिमअनुसार उद्धारको रणनीति
जिरोङ क्षेत्रमा उद्धारकर्मीका लागि परिस्थिति सहज छैन। काम गर्ने ठाउँ अत्यन्तै साँघुरो छ। माथिबाट चट्टान खस्ने र पुनःपहिरो जाने जोखिम छ। तीव्र गतिमा बगिरहेको पानीले सडकको आधार कटान गरिरहेको छ। साँघुरो खोँचमा ठूला उपकरण परिचालन गर्नसमेत कठिनाइ छ।
तर जोखिमकै कारण काम रोकिएको छैन। बरु जोखिमअनुसार काम गर्ने तरिका परिवर्तन गरिएको छ।
उद्धार टोलीले सामग्री बोकेर आउने ट्रकलाई पहिले यू–टर्न गराउने, त्यसपछि काम भइरहेको स्थानसम्म रिभर्स गरेर ढुंगा झार्ने र एक्स्काभेटरमार्फत ती ढुंगा प्रयोग गरी सडक भर्ने प्रक्रिया अपनाएको छ। अर्थात् घटनास्थलको भौगोलिक अवस्थाअनुसार उपकरण र जनशक्तिको परिचालन विधि नै परिवर्तन गरिएको छ।
उद्धार टोलीले बिहान ७ बजेदेखि मध्यरातसम्म निरन्तर काम गर्ने योजना बनाएको छ। त्यसपछि मौसम र जोखिमको अवस्था मूल्यांकन गरेर थप जनशक्ति परिचालन गर्ने तथा कामको गति र कार्यतालिका समायोजन गर्ने तयारी छ।
यसले विपद्पछिको उद्धारमा जनशक्ति र उपकरण मात्र होइन, जोखिम मूल्यांकन, कार्यतालिका र परिचालन रणनीति पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ।
नेपालमा उद्धार कस्तो ?
नेपालमा पनि अहिले ठूलो स्तरको खोज तथा उद्धार अभियान आवश्यक परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोका कारण मृत्यु हुनेको संख्या नौ सय नाघेको छ।
तर यति ठूलो मानवीय क्षति भएको अवस्थामा उद्धारको अर्को महत्वपूर्ण पाटो प्रभावित क्षेत्रसम्म तत्काल पहुँच स्थापित गर्नु हो। सडक भत्किएको, पुल बगेको, सञ्चार सम्पर्क विच्छेद भएको र कतिपय बस्ती भौगोलिक रूपमा अलगिएको अवस्थामा उद्धारकर्मी घटनास्थलसम्म पुग्नै नसक्ने अवस्था आउन सक्छ।
यस्तो अवस्थामा ‘उद्धार टोली पुग्न नसकेको’ भन्ने अवस्था आफैँमा विपद् व्यवस्थापनको ठूलो कमजोरी बन्न सक्छ। त्यसैले नेपालमा पनि पहिलो प्राथमिकता प्रभावित क्षेत्रसम्म पुग्ने बाटो, वैकल्पिक मार्ग र सञ्चार सम्पर्क पुनःस्थापना हुनुपर्ने देखिन्छ।
चीनको अभ्यासले यही विषयमा नेपाललाई व्यवहारिक सुझाव दिएको छ । विपद् आएपछि उद्धारकर्मी घटनास्थलमा पुग्ने मात्र होइन, उद्धारकर्मी पुग्ने बाटोसमेत तत्काल निर्माण गर्नुपर्छ।
नेपालले के सिक्ने?
पहिलो, उद्धारका लागि पूर्वतयारीमा भारी उपकरणको व्यवस्थापन आवश्यक छ। एक्स्काभेटर, डोजर, क्रेन, ट्रक तथा अन्य उपकरण विपद् भएको ठाउँमा खोजेर लैजाने होइन, जोखिमयुक्त जिल्लाका रणनीतिक स्थानमा पूर्वतयारी अवस्थामा राख्न सकिए उद्धारको समय निकै घटाउन सकिन्छ।
दोस्रो, उद्धार टोलीलाई स्थायी र विशेषज्ञ स्वरूप दिन आवश्यक छ। पहिरो, हिमताल फुट्ने बाढी, हिमनदीजन्य बाढी र भूकम्पजस्ता विपद्का प्रकृति फरक हुन्छन्। त्यसअनुसार तालिम प्राप्त इन्जिनियर, गोताखोर, पर्वतीय उद्धारकर्मी, स्वास्थ्यकर्मी र भारी उपकरण सञ्चालन गर्न सक्ने प्राविधिकसहितको विशेष टोली तयारी अवस्थामा राखिनुपर्छ।
तेस्रो, सडक खुलाउने कामलाई उद्धारकै हिस्सा मानिनुपर्छ। प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, उद्धार उपकरण र स्वास्थ्य टोली पुर्याउन सडक वा वैकल्पिक पहुँच आवश्यक हुन्छ। सडक नखुलेसम्म राहत पनि प्रभावकारी रूपमा पुग्न सक्दैन।
चौथो, जोखिम मूल्यांकनपछि उद्धारको कार्यविधि परिवर्तन गर्न सक्ने क्षमता चाहिन्छ। चीनको जिरोङमा साँघुरो भूगोल र पहिरोको जोखिमअनुसार ट्रक, एक्स्काभेटर र ढुंगा व्यवस्थापनको विधि परिवर्तन गरिएको छ। नेपालका हिमाली र पहाडी क्षेत्रमा पनि एउटै उद्धार विधिले काम नगर्न सक्छ।
पाँचौँ, मौसमलाई उद्धार योजनाको अभिन्न हिस्सा बनाउनुपर्छ। वर्षा, नदीको बहाव, थप पहिरो तथा हिमनदीको गतिविधिको निरन्तर निगरानी गरेर उद्धारको समय र जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ।
छैटौँ, एकीकृत कमान्ड आवश्यक छ। सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, प्राविधिक जनशक्ति, स्वास्थ्यकर्मी र निजी क्षेत्रका उपकरणलाई छुट्टाछुट्टै परिचालन गर्दा स्रोतको दोहोरो प्रयोग वा समन्वयको अभाव हुन सक्छ। एउटा प्रभावकारी कमान्ड प्रणालीबाट प्राथमिकता निर्धारण गरी स्रोत परिचालन गर्न सकिए उद्धारको गति बढाउन सकिन्छ।
अबको उद्धार
नेपालमा ठूलो संख्यामा मानवीय क्षति भएको अवस्थामा अबको चुनौती बेपत्ताको खोजी र शव व्यवस्थापनमा मात्र सीमित छैन। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने, सडक तथा पुल सञ्चालनमा ल्याउने, सञ्चार सम्पर्क जोड्ने, खानेपानी र स्वास्थ्य सेवा पुनःस्थापित गर्ने तथा विस्थापितलाई तत्काल आश्रय दिने काम पनि समानान्तर रूपमा अघि बढाउनुपर्नेछ।
चीनको जिरोङमा ११० उद्धारकर्मी र २८ वटा भारी उपकरण परिचालन गरेर मुख्य सडक खुलाउने कामलाई उच्च प्राथमिकता दिइएको छ। साँघुरो भूगोल, निरन्तर पहिरो र तीव्र बहावका बीच पनि काम गर्ने विधि परिवर्तन गर्दै उद्धार अघि बढाइएको छ।
नेपालले पनि यही घटनासँग आफूलाई जाँच्नुपर्ने बेला आएको छ । विपद् आएपछि उद्धार टोली कहाँ छ भन्ने मात्र होइन, उद्धार टोली घटनास्थलसम्म पुग्ने बाटो, उपकरण, जनशक्ति र स्पष्ट कार्ययोजना कहाँ छ?
विपद् रोक्न नसकिएला, तर विपद्पछिको उद्धारलाई कति छिटो, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ भन्ने राज्यको तयारीमा निर्भर हुन्छ। चीनको पछिल्लो उद्धार अभियानले नेपाललाई यही पाठ सिकाएको छ ।
प्रकाशित: १५ भाद्र २०८३ १५:११ सोमबार