समाज

भोटेकोशी बाढीपछि कसरी फर्काइँदैछ प्रभावित क्षेत्रमा सञ्चार सेवा ?

फाइल तस्बिर

गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट वञ्चित भए।

मानिसहरूले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो। सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन बढायो। बाढीका कारण छोटो समयमा लाखौँ मानिस प्रभावित भएपछि सरकारले खोज र उद्धारका लागि तत्काल काम सुरु गरेको छ। सोही समयमा सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार पुनःस्थापनाका लागि काम सुरु गरेको छ।

मन्त्रालयमा समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत किरन घिमिरेका अनुसार तत्कालै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल, सशस्त्र प्रहरीको समन्वयमा काम सुरु भएको छ। ‘हामीले बाढी आएको दिन दिउँसो २ बजेदेखि नै सञ्चार पुनःस्थापनाका लागि काम गरिसकेका थियौँ, सोही दिन प्रभावित क्षेत्रमै पुगेर अनुगमन गरी कसरी काम गर्ने योजना बनाएका थियौँ’, अनुगमन अधिकृत पण्डितले बताए।

रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेका नेपाल टेलिकम (एनटिसी)का १२० र एनसेलका ७८ बिटिएस टावर सञ्चालनमा थिए। जसमध्ये बाढीका कारण एनटिसीका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा टावर सञ्चालनका लागि आवश्यक ऊर्जाको अभाव भएको थियो।

सरकारले त्यसपछि हेलिकप्टर र सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू सञ्चालनको प्रयास गरेको थियो। जसमध्ये हालसम्म एनटिसीका ८६ र एनसेलका ७० वटा बिटिएस टावर सञ्चालनमा आइसकेको सम्बन्धित सेवाप्रदायकले जनाएका छन्। अब केही दिनमा बाँकी एनटिसीका ३८ र एनसेलका आठ वटा टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीहरूको भनाइ छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा नेपाल टेलिकमका कुल १२० वटा टावर थिए। जसमध्ये हाल ८२ वटा पुनः सञ्चालनमा ल्याइएका छन्। उनका अनुसार केही टावर बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै बाँकी टावरहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति र इन्धन व्यवस्थापनलाई प्राथमिकता दिइएको उनको भनाइ छ। बाढीका कारण अधिकांश साइटमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सुरुमा करिब आठ घण्टासम्म ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको थियो। त्यसपछि हेलिकप्टरमार्फत जेनेरेटर र इन्धन प्रभावित क्षेत्रमा पुर्‍याइएको उनले जानकारी दिइन्। 

साथै सडकमार्गबाट समेत त्रिशूलीसम्म जेनेरेटर र इन्धन पुर्‍याइएको र प्रभावित क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत गर्न सहज हुने अवस्था र आवश्यक इन्धन तथा अन्य सहयोग उपलब्ध भएमा बाँकी साइटहरू चाँडै सेवा पुनःसञ्चालनमा ल्याइने एनटिसीको भनाइ छ। ‘बाढीका कारण गल्छीदेखि नुवाकोटसम्मको फाइबर लिंक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

फाइबर क्षतिग्रस्त भएपछि ककनीतर्फको आरएएस फाइबरलाई ब्याकअपका रूपमा प्रयोग गरिएको र माइक्रोवेभ लिंक प्रयोग गरेर प्रभावित क्षेत्रका साइटहरू सञ्चालनमा ल्याइएको हो’, उनले भनिन्। उनका अनुसार टेलिकमले प्रभावित क्षेत्रका आफ्ना एक लाख ६० हजार बासिन्दालाई बुधबारदेखि दुई दिनका लागि निःशुल्क गरिएको डाटा, एसएमएस र भ्वाइस सेवालाई पाँच दिनसम्मका लागि बढाइएको छ।

एनसेलका नेटवर्क प्रमुख लीना केशरी कंशाकारका अनुसार रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण एनसेलका दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण रसुवादेखि करिब ७०-८० किलोमिटरको क्षेत्रमा विभिन्न स्थानमा फाइबर काटिनुका साथै बगाएपछि एनसेलका २७ वटा बीटीएस साइट प्रभावित भएका थिए।

उनका अनुसार त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा प्राविधिक टोली परिचालन गरी प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाको काम सुरु गरिएको थियो। बाढीपछि अवरुद्ध भएका २७ बिटिएस टावरमध्ये १८ वटा सञ्चालनमा ल्याइसकिएको र अब ९ वटा मात्रै सञ्चालनमा आउन बाँकी रहेको एनसेलले जनाएको छ। ती बिटिएस टावर पनि चाँडै सञ्चालनमा आउने एनसेलको भनाइ छ।

फाइबरमार्फत सेवा पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। साथै, विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनसमेत हेलिकप्टरमार्फत पुर्‍याइएको कम्पनीको भनाइ छ।

एनसेलले बाढी प्रभावित मानिसहरूका लागि थप ७ दिन निःशुल्क सेवा दिने समेत घोषणा गरिसकेको छ। ‘हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौँ। यस कठिन समयमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो’, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताए। यसअघि एनसेलले तीन दिनका लागि निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा घोषणा गरेको थियो।

एनसेलले नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना, हुवावेलगायतका संस्थाले ठूलो सहयोग गरेको जनाएको छ।

प्रविधि सेवा प्रदायक कम्पनी हुवावे नेपालका अनुसार कम्पनीले बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलको सहकार्यमा गरी १० वटा महत्वपूर्ण हब साइटसहित कुल ७० वटा साइट पुनःसञ्चालन गरेको जनाएको छ। यसमध्ये दुई वटा महत्वपूर्ण फाइबर लिंक र दुई वटा प्रमुख हब साइटको पुनःस्थापनाले थप २९ साइट पुनःसञ्चालनमा आएको कम्पनीको भनाइ छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापनाका लागि रेडियो, माइक्रोवेभ र फाइबर कनेक्टिभिटीका लागि साइट तथा ट्रान्समिसन लिंक सुधारमा काम गरेको तथा इन्धन, जनशक्ति, उपकरण तथा सामग्री परिचालनलगायतका लजिस्टिक्स र फिल्ड सहयोगलाई तीव्रता दिइएको जनाएको छ। साथै दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा हेलिकप्टरको सहयोगसमेत लिएको हुवावे नेपालको भनाइ छ। रासस

प्रकाशित: १३ भाद्र २०८३ ०७:०३ शनिबार