समाज

इको पहिरोले तनावमा तातोपानीका व्यापारी, चीनमा अड्किए पाँच सय कन्टेनर

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गएको पहिरोले सडक अवरुद्ध छ। दशैँको मुखमा सडक अवरुद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन।

करिब १२ दिनदेखि अवरुद्ध भएको सडक नखुल्दा व्यवसायी मात्रै होइनन् आवतजावत गर्न स्थानीयलाई पनि समस्या भएको छ। सडक खुलाउन नसक्नुमा व्यवसायीहरूले संघीय सरकारलाई दोष दिएका छन्।

चीनमा आएको बाढीले रसुवाको केरुङ नाका बन्द भएपछि अधिकांश व्यवसायीहरू तातोपानी नाकाबाट सामान ल्याउन चीनमा कन्टेनर लोड गरेर राखिसकेको थियो।

सडक अवरुद्ध करिब ५ सय कन्टेनर नेपाल आउन सकेका छैन। नेपाल भित्रिएका कन्टेनर पनि पहिरोले अलपत्र अवस्थामा छन्। अहिले नेपाल भित्रिएका फलफूल र तरकारी बोकेका कन्टेनरको सामान व्यवसायीले भरियाबाट बोकेर पहिरो कटाउन थालेका छन्।

इकोमा लेदो बगेर सडक खुलाउन सकिएको छैन। भोटेकोशी गाउँपालिका २ का वडाध्यक्ष कुमार श्रेष्ठले वस्ती जोगाएर सडक सञ्चालन गर्नुपर्ने बताए। 'हाम्रो पहिलो प्राथमिकता पहिरोमाथि रहेको वस्ती जोगाउनु हो,' वडाध्यक्ष श्रेष्ठले भने, 'त्यसपछि ट्रयाक मात्र भए पनि खोलेर सडक सञ्चालन गर्नु हो।'

'सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिएन' नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने, 'पहिरो पन्छाउन एउटा टिपर र स्काइभेटरले मात्रै हुँदैन। संघीय सरकारले नाका खोल्नुपर्छ भनेर लाग्नुपर्‍यो।' 

सडक निर्माण नहुँदा नजिकिँदै गरेको चार्डपर्वको लागि समयमा सामान नआउँदा बजार महङ्गो हुने निश्चित जस्तै छ।  

आफूहरूले सडक खुलाउनका लागि संघीय अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री र भन्सार विभाग प्रमुखलाई भेटेर आग्रह गरेको नेपाल हिमालय वाणिज्य व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले बताए। 'रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यावसाय गर्न सुझाए पनि तातोपानीमा सडकको थप समस्या आइपरेर झनै समस्या भइरहेको छ,' महासचिव पराजुलीले भने।  

राज्यले सडक खुलाउन चासो नदिँदा आफूहरू मारमा परेको शिल्क ट्रान्सपोर्टको निर्देशक विजय शेर्पाले बताए। 'राज्यले सडक खुलाउन चासो नै दिएन। हामी निकै मारमा परेका छौँ। संघीय सरकारले ध्यान दिएन्। हाम्रो समस्या कसले सुन्ने?' शेर्पाले भने।

चीनबाट फलफूलको व्यवसाय गर्दै आएका व्यवसायी शारदा पराजुलीले सडक नखुल्दा आफुहरू साह्रै समस्यामा परेको बताए। 'हाम्रो फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्‌किएका छन्। कतिप नेपाल नै आइसकेको छ। अब कुहिने स्थित छ,' पराजुलीले भने। व्यवसायीले कन्टेनरबाट फलफूल बोकाएर पहिरो पार गर्न थालेका छन्। स्याउ, आँप, अङ्गुर, लसुन, प्याजलगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डमा राखिएको छ।

सडक खुलाउन आफूहरूले मेहनत गर्दा पनि अझै लेदो बगेर खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले बताए। 'सडक खुलाउन प्रयास गरिहेका छौँ र सकिरहेका छैनौं,' श्रेष्ठले भने।

आपतकालीन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए। 'संघीय सरकारले खासै चासो दखाएन। आपतकालीन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्थ्यो,' अध्यक्ष बस्नेतले भने, 'त्यति पनि राज्यले नगर्दा व्यवसायी निकै मारमा परका छन्।'

दशैँका सामान जति सबै अड्किएका छन्। लत्ता कपडा पनि लोड भएर बसेको छ तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन नसकिएको उनले बताए। करिब ५ सयदेखि ६ सय वटा कन्टेनर चीन रोकिएका छन्। एक कन्टेनरको भाडा दैनिक १० रुपैयाँ चिनियाँ व्यवसायी संघलाई तिरेर राखिएको उनले बताए। 'चीनको खासा, न्यालम र केरूङको सामान सबै नेपाली कन्टेनरमा लोड भइसकेका छन्,' उनले भने, 'लासामा भएको कन्टेनर भने लोड भएको छैन।'

प्रकाशित: २९ श्रावण २०८२ ११:४७ बिहीबार