समाज

‘पानी बाजे’लाई सम्मान

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न सयममा भइरहने हरेक जात्रापात्राहरुमा पानी बोकेर पानी खुवाउन हिड्ने भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका रत्नभक्त प्रजापतिले आफूले गरेको समाजसेवाबाट कहिले पनि पुरस्कारको आशा गरेका थिएनन् । तर उही समाजसेवी प्रजापति शुक्रबार भक्तपुरमा ५० हजार नगदसहित सम्मानित भएका छन् ।  

भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मान गरेका हुन् ।  

कार्यक्रममा एक लाख ३० हजार नगदसहित जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर नगरपालिका वडा नं ८ का राजेश गाइजूलाई सम्मान गरियो । संस्कृति सम्पदाको क्षेत्रमा गरेको योगदानको कदर गरी उनलाई यो सम्मान र हौसला प्रदान गरेको हो । साथै स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं १० का सफाइ कर्मचारीहरुमध्ये दुई जनालाई पनि सम्मान गरेको थियो । उनीहरुलाई जनही नगद रु २५ पच्चीस हजारसहित सम्माान गरेको थियो । सम्मानित हुने सफाई मजदुरहरुमा उर्मीला देउला र सीताराम कर्माचार्य रहेका छन् ।  

स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सरकार (स्थानीय)ले मात्रै कदर नगरी समाजको एउटा अंगको रुपमा रहेको स्कुलको पनि जिम्मेबारी हो भन्न सन्देशका साथ यो पुरस्कारको स्थापना गरेको जानकारी गराए । पुरस्कारमा नगद राशीसहित सम्मानपत्र रहेको थियो । सम्मानका लागि भक्तपुर नगरबासी हुनुपनुका साथै स्नातकोतर उतीर्ण गरी संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने जनाइयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

वार्षिकोत्सवको अवसरमा पुस्तक र स्मारिका पनि विमोचन गरिएको थियो । साथसाथै ३० औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।  वार्षिकोत्सवको अवसरमा स्कुलले साउन १७ गतेदेखि विभिन्न १८ वटा कार्यक्रमहरु गरेको थियो ।

प्रकाशित: ११ पुस २०८२ १७:४९ शुक्रबार