समाज

पुस्तक जलाएको घटना छानविन गर्न प्रहरीलाई गृहको निर्देशन

गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयको पत्रअनुसार विस्तृत व्यहोरा संलग्न पत्रमार्फत अवगत भएको र पत्रमा उल्लेखित घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीका लागि कानुनी प्रक्रियामा ल्याउन भनिएको मन्त्रालयले जनाएको छ।

मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाबारे चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

उक्त घटनाको छानबिन तथा कारबाहीका लागि काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई निर्देशन दिएको हो। घटनाबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित: ३ चैत्र २०८२ १५:२१ मंगलबार