बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा नौ वटा सडकखण्ड अवरुद्ध भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले आज बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरुद्ध भएको जनाएको हो।
विवरणअनुसार बागमती प्रदेशका पाँच स्थानमा सडक अवरुद्ध छन्। रसुवाको धुन्चेदेखि रसुवागढीसम्मको सडकखण्ड बाढीका कारण अवरुद्ध छ। त्यस्तै रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी खण्ड र नुवाकोटको त्रिशूलीबाट बेत्रावतीसम्मको सडकखण्ड पनि बाढीका कारण अवरुद्ध छन्।
धादिङको गजुरी गाउँपालिका–१ क्षेत्रमा रहेको कालुपाण्डे राजमार्ग पनि बाढीका कारण अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–२ स्थित कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको शाखाले जनाएको छ।
गण्डकी प्रदेशतर्फ पनि चार स्थानमा सडक अवरुद्ध छन्। मनाङको नार गाउँपालिका–३ मा चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण अवरुद्ध छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा बेनी–जोमसोम सडकखण्ड तथा म्याग्दीकै रघुगंगा गाउँपालिका क्षेत्रमा रहेको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छन्।
त्यस्तै पर्वतको कुश्मा नगरपालिका–९ स्थित मध्यपहाडी राजमार्ग बाढीका कारण अवरुद्ध भएको विवरणमा उल्लेख छ।
अवरुद्ध सडकखण्डहरू:
रसुवा–धुन्चेदेखि रसुवागढी-पासाङल्हामु राजमार्ग-बाढी
रसुवा–त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी-त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडक-बाढी
नुवाकोट–त्रिशूलीदेखि बेत्रावती-मेलुङ–स्याफ्रुबेँसी सडक-बाढी
धादिङ–गजुरी गाउँपालिका–१-कालुपाण्डे राजमार्ग-बाढी
ललितपुर–बागमती गाउँपालिका–२-कान्ति लोकपथ-पहिरो
मनाङ–नार गाउँपालिका–३-चामे–बेँसीसहर खण्ड-पहिरो
म्याग्दी–अन्नपूर्ण गाउँपालिका–३-बेनी–जोमसोम खण्ड-पहिरो
म्याग्दी–रघुगंगा गाउँपालिका क्षेत्र-बेनी–जोमसोम खण्ड-पहिरो
पर्वत–कुश्मा नगरपालिका–९-मध्यपहाडी राजमार्ग-बाढी
प्रकाशित: १६ आश्विन २०८३ ०८:१८ शुक्रबार