समाज

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनामा दुर्गा प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

प्रसाईंविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि थियो। त्यसमा भने न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले २५ लाख रुपैयाँ धरौटी मागेको हो। तीनकुने घटना र बैंकिङ कसुर मुद्दा गरि अदालतले प्रसाईंसँग जम्मा २८ लाख धरौटी माग गरेको हो।

उच्चले उनीहरुसँगै थुनामा रहेका अन्य ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी तथा दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ।  

राजसंस्थाको पुनर्स्थापनाको मागसहित गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

हिंसात्मक बनेको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले दर्जनौं गोली चलाएको थियो भने दर्जनौं सेल अश्रुग्यास हानेको थियो। प्रहरीको गोली लागेर करिब २० जना घाइते भएका थिए।

प्रदर्शनकारीले जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका थिए भने कोटेश्वरमा रहेको भाटभेटीमा लुटपाट गरेका थिए। 

प्रकाशित: १९ श्रावण २०८२ १९:०५ सोमबार