समाज

उच्च अदालतका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना, रजिस्ट्रार तथा चालकसहित ६ जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

गाडीमा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश, रजिस्ट्रार तथा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ।

घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर र अन्य पाँच जनाको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत परिचय भने खुल्न बाँकी छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत खटिएको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ भाद्र २०८३ ०८:५६ मंगलबार