समाज

अति भारी वर्षाको चेतावनीपछि सुदूरपश्चिममा हाई अलर्ट, सेनाको हेलिकप्टर ‘स्ट्यान्डबाइ’

फाइल तस्बिर।

आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षा हुने चेतावनीसँगै सुदूरपश्चिम प्रदेशभर विपद् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।

सम्भावित बाढी र पहिरोबाट नागरिकको तत्काल उद्धार गर्न नेपाली सेनाले हेलिकप्टर स्ट्यान्डबाइ राखेको छ भने सशस्त्र प्रहरीले आफ्ना कर्मचारीहरूको बिदासमेत रद्द गरेको छ।

बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव सुदूरपश्चिममा पर्ने देखिएको हो।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, दार्चुला र अछामलाई उच्च जोखिममा राखेर अलर्ट जारी गरिएको छ। चुरे क्षेत्रमा समेत भारी वर्षा हुने भएकाले त्यस आसपासका क्षेत्रमा पनि जोखिम बढेको छ।

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षा निकायहरूले प्रतिकार्य तयारी तीव्र पारेका छन्। सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरीयाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयका अनुसार प्रदेशभर १४ वटा अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा राखिएका छन्।

‘यस अवधिमा सशस्त्र प्रहरीका कर्मचारीलाई बिदा दिइएको छैन, सबै युनिटहरू उच्च सतर्कतामा छन् र सरोकारवाला निकायसँग समन्वय भइरहेको छ,’ उनले भने।

यसैगरी, प्रभावित नागरिकको उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेर प्रतिकार्य तयारी पूरा गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले पनि सम्भावित विपद् लक्षित पूर्वतयारी अघि बढाएका छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले नागरिक तहसम्म पूर्वसूचना पठाइसकिएको बताए। ‘सडक अवरुद्ध भए तत्काल खुलाउन स्काभेटर तयारी अवस्थामा राखिएको छ भने जिल्लामा दुई महिनासम्मका लागि पुग्ने खाद्यान्न बन्दोबस्ती गरिएको छ,’ उनले भने।

यता बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले पनि जिल्ला उच्च जोखिममा रहेकाले गृह मन्त्रालयसँग समन्वय गरी प्रतिकार्य तयारी अघि बढाइएको जानकारी दिएका छन्।

विपद् व्यवस्थापन समितिहरूले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: ७ आश्विन २०८३ १६:३२ बुधबार