सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्रता दिएको छ। सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार जोखिमयुक्त क्षेत्रमा रहेका घरधुरी तथा जनसंख्याको विवरण एकिन गर्ने काम भइरहेको छ। विपद्का समयमा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा तत्काल उद्धार तथा व्यवस्थापन गर्न सकिने गरी तयारी गरिएको प्रशासनले जनाएको छ।
जिल्लामा मुख्यगरी सुनकोसी तटीय क्षेत्रमा आवश्यकताअनुसार प्रभावित नागरिकलाई राख्न सकिने होल्डिङ सेन्टरको तयारी अवस्थामा राखिएको छ। सुरक्षित स्थानका विद्यालय होटल तथा सरकारी कार्यालयलाई होल्डिङ सेन्टरको रुपमा तयारी अवस्थामा रखिएको हो। विपद् आइपरेमा स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाको काम अघि बढाउने गरी तयारी गरिएको प्रजिअ श्रेष्ठले बताए।
यसैगरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिन्धुलीका विद्यालयहरू बन्द गरिएको छ। विद्यार्थी तथा शिक्षकलाई जोखिमबाट जोगाउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको स्थानीय तहहरूले जनाएका छन्। विद्यालय बन्दसँगै विद्यार्थी तथा अभिभावकलाई अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान आग्रह गरिएको छ।
विपद्को समयमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। आवश्यक परेको अवस्थामा तत्काल परिचालन हुने गरी सुरक्षा जनशक्ति तथा उपलब्ध स्रोतसाधन तयारी अवस्थामा राखिएको प्रजिअ श्रेष्ठले बताए।
त्यस्तै जोखिमयुक्त बस्ती तथा सम्भावित प्रभावित क्षेत्रमा माइकिङ गरी स्थानीय बासिन्दालाई सचेत गराउने कामसमेत भइरहेको छ। नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण जिल्लाको मुख्य यातायात मार्ग बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन्।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्को समयमा सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना नियमित रूपमा हेर्न र कुनै समस्या देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
प्रकाशित: ८ आश्विन २०८३ ११:१५ बिहीबार