समाज

मधेसमा ‘हाई अलर्ट’: प्रदर्शन भड्किन नदिन उच्च सतर्कता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरुद्ध एमालेले शनिबार देशभर प्रदर्शन गरेको थियो।

एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।  

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएसँगै आइतबार बिहानदेखि नै आफुहरु उच्च सतर्कता अपनाएर बसेको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी)गोविन्द थपलियाले बताए। उनले भने, ‘हामी सबै राजनीतिक गतिविधि बारे सूक्ष्म हिसाबले सूचना संकलन गर्ने, गतिविधि नियाल्ने काम सुरु गरेका छौ।’  

शनिबार देखि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)हरुसंगको समन्वयमा प्रहरी परिचालन र व्यवस्थापनको कार्य भइरहेको उनले बताए। हाई अलर्टमा बसेर मधेसका आठ वटै जिल्लामा कडा निगरानीका साथ प्रहरी सक्रियता बढाइको उनको भनाइ छ।  

मधेस प्रदेश प्रहरी कार्यालयले सीमा क्षेत्र, जिल्ला सदरमुकाम र सम्भावित प्रदर्शन स्थलहरूमा विशेष निगरानी बढाएको छ। राजनीतिक दलका गतिविधि, कार्यकर्ता भेला, प्रदर्शन र सम्भावित हिंसात्मक घटनाबारे सूचना संकलन र विश्लेषण गर्न थालिएको छ ।  

प्रहरीले खुला सीमा नाका, यातायात र भीडभाड हुने स्थानमा चेकपोस्ट तथा गस्ती बढाएको छ। कुनै किसिमको अशान्ति हुन नदिन र कानुन व्यवस्था कायम राख्न हाई अलर्ट जारी गरिएको डिआइजी थपलियाले बताए।

प्रकाशित: १५ चैत्र २०८२ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App