कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोले खोला थुनिएको भन्ने खबर आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको बताए। 'खोला थुनिएको खबर आएपछि उच्च सतर्कता अपनाइएको छ, सुरक्षित स्थानमा रहन सबैलाई सूचित गरिएको छ,' उनले भने।
प्रकाशित: २४ भाद्र २०८३ ०६:२० बुधबार