समाज

गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको हो।

विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको बताए।

उनका अनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरूलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले समन्वय गरिरहेको छ।

बिहीबार बेलुकी बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरुलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताए। प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाई समन्वय भइरहेको जानकारी दिए।

भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सवस्टेसनमा क्षति पुगेर १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउनसक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।

प्रकाशित: ९ आश्विन २०८३ ११:०५ शुक्रबार