समाज

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

सांकेतिक तस्बिर

ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाउँदै घटनाबारे औपचारिक छानबिन अघि बढाएको छ।  

संक्रमण देखिएपछि आवश्यक सतर्कता अपनाउन ढिलाइ भएको, सम्बन्धित निकायलाई समयमै जानकारी नदिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्षपछि कोषले यो निर्णय गरेको हो।

पशु सेवा विभागका अनुसार चिडियाखानाभित्र रहेका चराचुरुंगीहरू जेठ २९ गतेदेखि नै मर्न थालेका थिए। तर अवस्था गम्भीर बन्दै जाँदा पनि त्यसबारे तत्काल सार्वजनिक जानकारी गराइएको थिएन।  

चराहरू मर्ने क्रम नरोकिएपछि असार १ गते तीनवटा मृत चराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणबाट ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच५एन१)’ अर्थात् बर्डफ्लु संक्रमण पुष्टि भएको थियो।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार नमुना प्राप्त भएपछि र्‍यापिड टेस्ट र पीसीआर परीक्षण गरिएको थियो। परीक्षणले एच५एन१ संक्रमण पुष्टि गरेपछि विभागीय टोली चिडियाखाना पुगेको थियो। टोलीले निरीक्षणका क्रममा केही समयदेखि चराहरू मर्ने क्रम जारी रहेको र चिडियाखाना व्यवस्थापनले आफ्नै स्तरमा केही परीक्षणसमेत गरिरहेको जानकारी पाएको जनाएको छ।

संक्रमण पुष्टि भएपछि असार ५ गतेदेखि चिडियाखाना बन्द गरिएको थियो। हाल चिडियाखाना पूर्ण रूपमा सिल गरिएको छ र सर्वसाधारणको प्रवेश रोकिएको छ। हालसम्म साना–ठूला गरी ३७ पशुपन्छीको मृत्यु भइसकेको छ भने २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण लोपोन्मुख तथा दुर्लभ प्रजातिका लाटोकोसेरो, बकुल्ला, गिद्ध, राजहाँस र सारस लगायतका पन्छी प्रभावित भएका छन्। चिडियाखानाका निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार केही साना स्तनधारी जनावरमा समेत संक्रमण देखिएको छ। जंगली बिरालो, नीरबिरालो, चरीबाघ, हरिण तथा बाँदरमा संक्रमण पुष्टि भएको छ भने जंगली बिरालो र चरीबाघको मृत्यु भइसकेको छ।

पशु स्वास्थ्य विज्ञहरूका अनुसार एच५एन१ अत्यन्त संक्रामक भाइरस हो, जसले विशेषगरी पन्छीहरूमा तीव्र रूपमा फैलिने क्षमता राख्छ। एकपटक संक्रमण फैलिन थालेपछि नियन्त्रण जटिल बन्न सक्छ। यसले वन्यजन्तु संरक्षणमा प्रत्यक्ष असर पुर्‍याउनुका साथै दुर्लभ तथा संकटापन्न प्रजातिको अस्तित्वमै चुनौती सिर्जना गर्न सक्छ। विश्वका केही देशमा यो भाइरस सीमित अवस्थामा मानिसमा समेत सरेको र मृत्युका घटना देखिएको तथ्यले यसको संवेदनशीलता थप स्पष्ट पार्छ। नेपालमा पनि केही समयअघि मानिसमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो।

नेपालमा बर्डफ्लुको इतिहास हेर्दा सन् २००९ मा झापाबाट पहिलोपटक उच्च संक्रामक एभियन इन्फ्लुएन्जा (एचपीएआई) पुष्टि भएको थियो। त्यसयता २०२५ सम्म ३२० भन्दा बढी प्रकोप दर्ता भएका छन् भने तीन लाख ३५ हजारभन्दा बढी पन्छी नष्ट भएको सरकारी तथा वैज्ञानिक अभिलेखमा उल्लेख छ।

हालैका वर्षमा पनि बर्डफ्लुले ठूलो आर्थिक र जैविक क्षति पुर्‍याएको छ। २०२३ मा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संक्रमण फैलिएपछि ११ हजार ६७२ भन्दा बढी कुखुरा, हाँस, टर्की र बट्टाई नष्ट गरिएको थियो। त्यतिबेला हजारौं अण्डा तथा ठूलो परिमाणमा दाना पनि नष्ट गर्नुपरेको थियो।

यसै वर्ष २०२६ मा देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि करिब सात लाख पन्छी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। संक्रमण नियन्त्रणका क्रममा ११ लाखभन्दा बढी अण्डा र तीन लाख किलोग्रामभन्दा बढी दाना नष्ट गरिएको थियो। काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, काभ्रे र नवलपरासी प्रभावित जिल्लामा परेका थिए।

विज्ञहरूका अनुसार बर्डफ्लु नियन्त्रणको प्रभावकारी उपाय प्रारम्भिक पहिचान, संक्रमित क्षेत्रको तत्काल सिलबन्दी, कडा जैविक सुरक्षा (बायोसेक्युरिटी) र प्रभावकारी सूचना प्रणाली हो। तर सदर चिडियाखानाको घटनाले संक्रमणबारे समयमै जानकारी नदिँदा जोखिम कसरी बढ्न सक्छ भन्ने प्रश्न फेरि उठाएको छ।

हाल राष्ट्रिय प्रकृति संरक्षण कोषले घटनाको विस्तृत छानबिन गरिरहेको छ। संक्रमण जानाजानी लुकाइएको हो वा व्यवस्थापकीय कमजोरीका कारण नियन्त्रणमा ढिलाइ भएको हो भन्ने निष्कर्ष छानबिनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ। तर वन्यजन्तु संरक्षणको केन्द्रकै रूपमा रहेको चिडियाखानाभित्र यस्तो संक्रमण फैलिनु र त्यसबारे सूचना व्यवस्थापनमा प्रश्न उठ्नु भने सम्बन्धित निकायका लागि गम्भीर चुनौती बनेको छ। जनस्वास्थ्य र जैविक सुरक्षाको दृष्टिले पनि यो घटनालाई उच्च प्राथमिकताका साथ हेरिएको छ।

प्रकाशित: १० असार २०८३ १७:०३ बुधबार