विश्वभरका ६७ देशका दुई सयभन्दा बढी सम्पदा संरक्षणकर्मी तथा विज्ञहरूले शनिबार प्राचीन कपिलवस्तुका बुद्धस्थलहरूको अवलोकन भ्रमण गरेका छन्।
उनीहरूले बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानमा ऐक्यबद्धता जनाउँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद् (इकोमोस) को ६० औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन लुम्बिनी आएको ६७ देशका २२२ जना प्रतिनिधिहरूको टोलीले तिलौराकोट र निग्रोधराम (कुदान) को भ्रमण गरेको हो।
विश्वभरका सांस्कृतिक सम्पदालाई द्वन्द्व र विपद् जोखिमबाट जोगाउने तथा विश्व शान्तिको विषयमा लुम्बिनीमा चारदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो।
टोलीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खननबाट प्राप्त प्रमाण र अन्वेषण गरिएका स्थलहरूको निरीक्षण गरेको थियो।
सो अवसरमा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले तिलौराकोटको महत्वबारे जानकारी गराएका थिए भने निग्रोधराममा वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले टोलीलाई ब्रिफिङ गरेका थिए।
इकोमोस नेपालका अध्यक्ष तथा लुम्बिनी विकास कोषका निमित्त सदस्य-सचिव ज्ञानीन राईले यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय सम्पदाकर्मीहरूको भ्रमणले तिलौराकोटको विश्वव्यापी प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान चलिरहेका बेला भएको यो भ्रमण अत्यन्त सकारात्मक छ,’ उनले भने, ‘टोलीका सदस्यहरूले यहाँको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’
अष्ट्रेलियाकी प्रतिनिधि सुसन ट्रोमेरीले बुद्धस्थलहरूको अवलोकन गर्न पाउँदा खुसी व्यक्त गर्दै विश्वभर द्वन्द्वका कारण अशान्ति फैलिरहेको अवस्थामा बुद्धभूमिबाट शान्तिको सन्देश दिनु महत्वपूर्ण भएको बताइन्। उनले बुद्धस्थलको विकास र संरक्षणमा इकोमोसले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरिन्।
तिलौराकोटलाई शाक्यवंशीय राजा शुद्धोदनको राजधानी प्राचीन कपिलवस्तु मानिन्छ भने निग्रोधराममा बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक आफ्नो परिवारलाई भेटेको विश्वास गरिन्छ।
सन् १९६५ मा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इकोमोसले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र प्रवर्द्धनमा काम गर्दै आएको छ।
यसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा रहेको छ र १३७ देशमा १२ हजारभन्दा बढी विज्ञ सदस्यहरू रहेका छन्। यसअघि लुम्बिनीमा सम्पन्न इकोमोसको ६० औँ महासभाले विश्व सम्पदा स्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गर्दै सम्पन्न भएको थियो।
प्रकाशित: १ कार्तिक २०८२ १८:१७ शनिबार