समाज

आज राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

मौसम प्रतिकूल बन्दै गएपछि बिहीबार राति देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले साँझ ७:१० बजे विशेष मौसमी बुलेटिन जारी गर्दै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको जनाएको हो।

यसैगरी, रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

भारी वर्षाका कारण पहाडी भेगमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने र तराईका भू-भागमा डुबान हुनसक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा कमजोर संरचना आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

मौसममा आएको यो फेरबदलका कारण यात्रा गर्दा सडकको अवस्था बुझ्न र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन सूचित गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८३ १८:१७ बिहीबार