समाज

सिंहदरबार गेट अगाडि बाक्लो सुरक्षाकर्मी तैनाथ

सडकमा प्रदर्शन गरिरहेका आक्रोशित कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि अहिले सिंहदरबार गेट अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

शनिबार बिहानै पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेका २३ वटै जनसंगठनका कार्यकर्ता सडकमा उत्रिएका हुन्।

दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढ्ने क्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि प्रहरीसँग झडप भएको थियो।

प्रहरीको घेरा र ब्यारिकेड तोड्दै अघि बढेको भीडले सडकमै टायर बालेर प्रदर्शन गरेको छ। प्रदर्शन उग्र बन्दै जाँदा बबरमहल क्षेत्रमा एउटा निजी गाडीको सिसा समेत फुटाइएको छ। भिडमा घुसपैठ भएको आशंकामा प्रदर्शनकारीले एक अपरिचित व्यक्तिमाथि कुटपिट समेत गरेका छन्।

सडकमा आगजनी र तोडफोडमा उत्रिएको प्रदर्शनकारीको ठूलो समूह नाराबाजी गर्दै सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेपछि स्थिति थप तनावग्रस्त बनेको हो।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने भीडलाई रोक्न प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिंहदरबारका सबै गेटहरू र आसपासका क्षेत्रमा दंगा नियन्त्रक प्रहरीसहित थप सुरक्षा बल परिचालन गरिएको छ।

अहिले सो क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ।

माइतीघरदेखि बानेश्वरसम्मको सडक खण्ड तनावग्रस्त बनेको छ।

जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन गर्दै सरकारले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो।

उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ। ओलीलाई भने स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिनमा भर्ना गरिएको छ।

पक्राउलगत्तै बसेको एमालेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले सरकारको यो कदमलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण भन्दै सडक र कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो। एमाले नेताहरूले यो कदमले गलत नजिर बसालेको चेतावनी दिएका छन्।

पार्टी केन्द्रको निर्णय र नेताहरूको आह्वानलगत्तै सडकमा निस्किएका कार्यकर्ताले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनलाई आक्रामक बनाइरहेका छन्।

प्रहरीले भिडलाई तितरबितर पार्ने प्रयास जारी राखेको छ।

प्रकाशित: १४ चैत्र २०८२ १६:३४ शनिबार