नेपालमा जारी भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी रहेको देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
यस अवधिमा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका अधिकांश क्षेत्र तथा बागमती प्रदेशका केही दक्षिणी जिल्लामा वर्षा र त्यसबाट उत्पन्न जोखिम बढी रहने उनको भनाइ छ।
पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै २४० मिलिमिटर वर्षा मापन भएको छ। गण्डकी प्रदेशदेखि पश्चिम नेपालका धेरै स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको उनले बताए।
उनले अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताए।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद् पोखरेलले आग्रह गरेका छन्।
प्रकाशित: १० आश्विन २०८३ ०९:०५ शनिबार