मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण बुधबारदेखि वर्षाको गतिविधि क्रमशः बढ्दै जाने जनाएको हो ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यून चापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव बुधबारदेखि कोसी, वाग्मती र गण्डकी प्रदेशमा देखिनेछ ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम प्रणालीको प्रभावले देशको हिमाली भू–भागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित: ६ आश्विन २०८३ २१:०६ मंगलबार