समाज

आज कोशी, बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बादल लाग्ने र धेरै ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको हो।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू-भागका धेरै स्थान तथा सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

मधेशसहित बागमती र गण्डकीका तराई भू-भागका धेरै स्थान तथा कोशी र लुम्बिनीका तराई भू-भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू-भागका थोरै तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको थियो। कोशी, बागमती र गण्डकीमा पनि केही स्थानमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८३ ०७:१९ बिहीबार