समाज

बाढी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना, तीनदिनसम्म सतर्क रहन आग्रह

रसुवासहित बाढी प्रभावित जिल्लाहरूमा मंगलबार रातिदेखि बिहीबार बिहानसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा आसपासका जिल्लाहरूमा वर्षाको सम्भावना औंल्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार प्रभावित क्षेत्रहरूमा मध्यम स्तरको वर्षा हुने भए पनि एक/दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने आकलन गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानआसपास अवस्थित रहेको छ।

यसका साथै, हाल भारतको पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रत्यक्ष प्रभाव देखिएकाले वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १९:११ मंगलबार