समाज

भोलिदेखि चार दिन भारी वर्षाको पूर्वानुमान, कुन कुन जिल्लामा बढी जोखिम ?

प्राधिकरणको एडभाइजरीः कसलाई के सुझाव?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिदेखि चार दिन (असोज १७ देखि २१ गतेसम्म) भारी वर्षाको पूर्वानुमान गरेको छ। प्राधिकरणले बुधबार एक वक्तव्य जारी गरेर ‘उच्च सतर्कताका लागि अनुरोध’ गरिसकेको छ। 

‘जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खास गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ,‘नारायणी, बागमती, कमला र कोसी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।’ 

कुन कुन जिल्ला बढी जोखिममा? 

प्राधिकरणले विशेष गरी बागमती प्रदेशको काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनलाई बढी जोखिममा देखिएको छ। यस्तै कोसी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहटलाई बढी जोखिममा देखिएको छ।

उच्च जोखिमका जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताउँदै प्राधिकरणले सतर्कता अपनाउन र पूर्व तयारी तथा पूर्व कार्य गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ। 

अहिले दसैँको माहौल भएकाले प्राधिकरणले ७ बुँदे सचेतना र पूर्व तयारीको सुझाव पनि जारी गरेको छ। 

कसलाई कस्तो सुझाव? 

प्राधिकरणले वर्षा हुनसक्ने चार दिनको अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सबै सर्वसाधारण र यात्रुहरूलाई सूचित गरेको छ। 

यस्तै जोखिमका जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने सुझाव दिएको छ। 

यस्तै पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने, डुबान हुने बस्तीका बासिन्दाहरूले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिएर अरूलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने पनि प्राधिकरणले सुझाव दिएको छ। 

तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने पनि सुझाव दिएको छ। 

यस्तै जोखिमयुक्त राजमार्ग र सडकहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने पनि प्राधिकरणले अर्को सुझाव दिएको छ। 

यस्तै पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने प्राधिकरणको अर्को सुझाव छ।प्राधिकरणको सुझावकै आधारमा काभ्रेले बिपी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइसकेको छ।

प्रकाशित: १६ आश्विन २०८२ १६:४५ बिहीबार