म्याग्दीकाे बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन्।
बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसर छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन्। नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो।
जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्छन्। चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मासु र खानाका परिकार उनीहरू आफैं तयार पार्छन्।
स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन्। टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन्। सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांङ्केतिक भाषामा ग्राहकले कुराकानी गर्छन्।
फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर बताए। म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आएका शङ्कर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण साङ्केतिक भाषा खाजाघरलाई रोजेको बताए। “उहाँहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ”, उनले भने “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ।”
दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताए। दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ।
हेमराजको घरमा श्रीमती र एक छोरी छन्। अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन। अमृतका घरमा श्रीमती र एक छोरा छन्। हेमराजले ५ कक्षासम्म पढेका छन् भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन्। उनीहरूका परिवार बागलुङमै बस्छन्।
धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शङ्कर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिङ्गामा आएका थिए। शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो। घारबाट तीन लाख रुपैयाँ ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झिन्छन्। हाल उनीहरूको व्यवसायमा १० लाख रुपैयाँ बराबरको लगानी छ।
सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ। पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए।
“अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ”, उनले भने “उहाँहरूले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ।”
हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उनीहरूले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन्। पुँजीको अभाव र सबै ग्राहकले साङ्केतिक भाषा नबुझ्नु उनीहरूका लागि व्यवसायमा चुनौती बनेको छ।
प्रकाशित: २३ चैत्र २०८२ १३:०३ सोमबार