समाज

बझाङकी अनिसा खोटाङमा मृत फेला

खोटाङमा एक स्वास्थ्यकर्मी युवति मृत अवस्थामा फेला परेकी छिन्। बझाङको केदारस्य गाउँपालिका ७ स्थायी घर भई खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

प्रदेश सरकार मातहत स्थायी स्वास्थ्यकर्मी रहेकी २३ वर्षीय अनिसा सोमबार बिहान कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार बन्द कोठा नखुलेको खबर स्थानीयले दिएपछि स्थानीय चौकीका प्रहरी गएर हेर्दा कोठाभित्रबाट चुकुल लगाइएको र भित्र झुन्डिएको अवस्थामा उनलाई भेटिएको हो।

झुन्डिएर मृत अवस्थाको घटनाबारे आफन्तलाई खबर गरी आफन्त नआएसम्म सोमबार दिनभर पहरा दिएर राखेको बताउँदै प्रहरीले मंगलबार बिहान आफन्त आएपछि जिम्मा दिने प्रक्रिया सुरु गरेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले भर्खर आइपुगेका आफन्तजनले काठमाडौं पोष्टमार्टम गर्ने भनेपछि सर्जमिन मुचुल्का गरेर शव उनीहरूकै जिम्मा लगाउने तयारी भइरहेको बताए।

घटनाको वास्तविक कारण अझै खुल्न नसकेकाले शव जिम्मा लगाएपछि पनि थप अनुसन्धानको क्रम चलिरहने डिएसपी बुढाथोकीले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले प्रारम्भिक अनुसन्धान अनुसार युवतिले आत्महत्या गरेको देखिएको बताएकी छिन् । पछिल्लो समय आत्महत्या गर्ने क्रम अत्यधिक बढेको र यो अत्यन्त दुःखद भएको भन्दै उनले त्यसबाट बँचाउन हरेक परिवार र समाजमा मनोपरामर्श अभियान चलाउनु आवश्यकता औँल्याएकी छिन्। 

प्रकाशित: २ असार २०८३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App