समाज

झिलिमिली तिहारको मिठाससँगै स्वास्थ्यको ख्याल : परिकारमा सन्तुलन, उत्सवमा उल्लास

तिहार सुन्नेबित्तिकै मनमा झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, लक्ष्मीपूजा, देउसी–भैलो र भाइटीकासँगै सेलरोटी, फिनी, अनरसा, खुर्मा, विभिन्न प्रकारका मिठाई, भाइमसला तथा माछामासुको स्वाद पनि सम्झनामा आउँछ । हरेक चाडपर्वका आ–आफ्नै महत्त्व र रमाइला पक्ष हुन्छन् । हिन्दुहरूको महान् पर्व तिहार विशेषतः उज्यालो, उमङ्ग, आत्मीयता र पारिवारिक मिलनको पर्व हो ।

धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा, घरआँगनमा दियोबत्ती बाल्ने परम्परा, देउसी–भैलोको सांस्कृतिक रौनक र दाजुभाइ–दिदीबहिनीबीचको प्रेमले तिहारलाई विशेष बनाउँछ । नेपाली समाजमा तिहार केवल पूजा र झिलिमिलीको पर्व मात्र नभई पारिवारिक जमघट र विविध परिकारसँग समेत गहिरो रूपमा जोडिएको छ ।

तिहारमा सेलरोटी, फिनी, अनरसा, खुर्मालगायतका परिकार तथा विभिन्न मिठाई विशेष रूपमा तयार पारिन्छन् । भाइटीकामा भाइमसला र फलफूलको पनि विशेष महत्त्व हुन्छ । यस्ता परिकारले चाडपर्वको रमाइलो र आत्मीयता थपे पनि खानपानमा सन्तुलन कायम राख्नुपर्ने चिकित्सक तथा पोषणविद्को सुझाव छ ।

तिहारका धेरै परिकार चिल्ला र गुलिया हुने गर्छन् । शुद्ध तेलको उचित मात्रा प्रयोग गरी बनाइएका परिकार सीमित मात्रामा खानु उपयुक्त हुन्छ । विशेष अवसरमा तयार गरिने खानेकुरामा प्रयोग हुने अखाद्य रङ तथा रसायनयुक्त मिसावटले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सक बताउँछन् ।

चाडपर्व सकिएलगत्तै असन्तुलित खानपानका कारण मुटुसम्बन्धी समस्या, मधुमेह र उच्च रक्तचापका बिरामीको स्वास्थ्यमा जटिलता देखिने गरेको चिकित्सकको अनुभव छ । मिर्गौलासम्बन्धी समस्या भएका बिरामीमा फस्फोरस र पोटासियमको मात्रा बढ्ने समस्या पनि देखिन सक्ने भएकाले खानपानमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

चिकित्सकका अनुसार चिल्लो, गुलियो, पिरो र मसलेदार खानेकुरा खाँदा विशेष ख्याल गर्नुपर्छ । बजारबाट खरिद गरिने मिठाई र अन्य परिकारभन्दा सकेसम्म घरमै तयार पारिएका खानेकुरा उपयुक्त हुन्छन् । घरमा बनाउँदा पनि अत्यधिक चिल्लो, पिरो र मसला प्रयोग गर्नु हुँदैन भने अनावश्यक रङ तथा रसायन मिसाउनबाट बच्नुपर्छ ।

पटक–पटक एउटै तेल तताएर प्रयोग गर्दा ‘ट्रान्सफ्याट’ उत्पादन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । पोषणविद्का अनुसार यसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ । त्यस्तै, अत्यधिक चिनी तथा विषाक्त रङ मिसाइएका मिठाईले स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै मधुमेहको जोखिम बढाउन सक्छन् । त्यसैले तिहारका मिठा र मनपर्ने परिकार पनि सन्तुलित मात्रामा खानुपर्छ ।

तिहारको भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयताको पर्व हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु र सुख–समृद्धिको कामना गर्छन् । भाइमसला र मौसमअनुसारका फलफूल दिने परम्पराले पनि यस पर्वलाई थप विशेष बनाएको छ ।

भाइमसलामा काजु, किसमिस, बदाम, पेस्ता, नरिवल र छोकडाजस्ता ड्राइफुड प्रयोग गरिन्छन् । यस्ता खानेकुरामा क्यालोरी र विभिन्न पोषक तत्त्व पाइने भएकाले सन्तुलित मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ ।

दाजुभाइमा उच्च रक्तचाप, मधुमेह वा अन्य दीर्घकालीन स्वास्थ्य समस्या भए गुलियो खानेकुरा उपहार दिँदा पनि सावधानी अपनाउनुपर्ने हुन्छ । अत्यधिक गुलियोले रगतमा चिनीको मात्रा बढाउन सक्छ । त्यसैले तिहारको आत्मीयता र मायालाई स्वास्थ्यसँग जोड्दै स्वास्थ्यमैत्री उपहार छनोट गर्न सकिन्छ ।

मौसमी फलफूल भाइटीकाका लागि राम्रो विकल्प हुन सक्छन् । सुन्तला र मौसममा भिटामिन सी तथा फाइबर प्रशस्त पाइन्छ । त्यसैगरी अमला र हलुवावेद पनि स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् । अमला र हलुवावेदमा पाइने भिटामिन सीले छाला र कपालका लागि समेत फाइदा पुर्‍याउन सक्छ ।

तिहारको रमाइलोबीच स्वास्थ्य जोगाउन प्रशस्त पानी पिउने, गुलियो खानेकुरासँगै भिटामिन सीयुक्त आहार सेवन गर्ने र फाइबरयुक्त सागसब्जी तथा सलादलाई खानपानमा समावेश गर्नुपर्छ । सुन्तला, भोगटे र मौसमजस्ता फलफूल पनि आहारमा राख्न सकिन्छ ।

मधुमेहका बिरामीले सेलरोटी खान मन लागे ठिक्क मात्रामा खानु उपयुक्त हुन्छ । नियमित हिँडडुल र व्यायामलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवनशैलीका लागि नियमित रूपमा हिँड्ने, शारीरिक गतिविधि गर्ने र आवश्यकताअनुसार कागती पानीजस्ता पेय पदार्थ सेवन गर्न सकिन्छ ।

उज्यालो, उल्लास र आत्मीयताको पर्व तिहार सबैले हर्षोल्लासका साथ मनाउनुपर्छ । तर, चाडपर्वको रमाइलो खानपानको असन्तुलनका कारण स्वास्थ्य समस्यामा परिणत हुन दिनु हुँदैन । समयमै खाना खाने, परिकार सन्तुलित मात्रामा सेवन गर्ने, नियमित शारीरिक गतिविधि गर्ने र स्वास्थ्यमा कुनै जटिलता देखिए तुरुन्त चिकित्सकको सल्लाह लिने हो भने तिहारको मिठाससँगै स्वास्थ्य पनि जोगाउन सकिन्छ ।

प्रकाशित: २४ कार्तिक २०८३ १३:३५ मंगलबार