समाज

हर्क साम्पाङले भने- भर्खरै गृहमन्त्रीलाई जाहेरी पठाएको छु, हेरौं दर्ता गर्छन् कि गर्दैनन् !

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुरस्थित जानकी मन्दिरअगाडि दंगा सिर्जना गर्नेहरूमाथि कारबाहीको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई जाहेरी पत्र पठाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले गृहमन्त्रीलाई सो जाहेरी पठाएको बताएका छन्।

गत २०८३ साउन ५ गते जानकी मन्दिर अगाडि दंगा फैलाउने कृत्यमा संलग्न सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गर्दै आफूले जाहेरी पठाएको साम्पाङले उल्लेख गरेका छन्।

स्थानीय प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि गृहमन्त्रीसमक्ष नै पत्र पठाउनुपरेको दाबी गर्दै उनले लेखेका छन्, ‘गृहमन्त्रीज्युलाई २०८३-४-५ गते जानकी मन्दिर अगाडि दंगा गर्ने कृत्यमा संलग्न सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न भर्खरै जाहेरी पत्र पठाइदिएको छु ! हेरौँ दर्ता गर्छन् कि गर्दैनन् ! प्रहरी डराइराछ रे, दर्ता गर्न मानेन रे ! मन्त्रीले भन्दा त मान्छ कि खोइ, हेरौं ?’

सो दिन जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका थिए। पार्टी अध्यक्ष साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका थिए।

साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो। सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका थिए।

यहि प्रकरणमा साम्पाङले गृहमन्त्री गुरुङलाई जाहेरी पठाएका हुन्। प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेपछि साम्पाङले गृहमन्त्रीको निर्देशनमा भए पनि निष्पक्ष अनुसन्धान हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित: २० श्रावण २०८३ १९:५८ बुधबार