गाईघाटमा बुधबार १ हजार ८७० सिलिन्डर कोशी ग्यास आए पनि मागअनुसार आपूर्ति नहुँदा घण्टौँ लाइन बसेका आधाभन्दा बढी उपभोक्ता रित्तै फर्किएका छन्। बिहान २ बजेदेखि सिलिन्डर बोकेर लाइनमा बसेका उपभोक्ताले समेत दिउँसो ४ बजेसम्म कुर्नुपरेको थियो।
बुधबार कोशी ग्यास आउने जानकारी पाएपछि सदरमुकाम गाईघाटका उपभोक्ता बिहान २ बजेदेखि नै सिलिन्डर लिएर लाइनमा बसेका थिए। बिहान ६ बजेसम्म लाइनमा बस्नेको संख्या ७ देखि ८ सय पुगिसकेको थियो। गाईघाटको पिपलचोकस्थित अधिकृत बिक्रेता रमाइलो पल सप्लायर्स र संगमचोकस्थित सयपत्री सप्लायर्समा उपभोक्ताले भोक, निद्रा र तिर्खा त्यागेर घण्टौँ लाइन बसेका थिए।
बिहान १ बजे ग्यास आउने भनिए पनि २:३० बजे मात्र ग्यास आइपुगेको थियो। कडा प्रहरी सुरक्षाबीच वितरण गरिएको ग्यास केही समयमै सकिएपछि लामो समय लाइनमा बसेका उपभोक्तालाई कुपनको चिर्कटो दिएर फर्काइएको थियो।
रमाइलो पल सप्लायर्समा ८६० र सयपत्री सप्लायर्समा ३५० थान सिलिन्डर आएको थियो। तर, दुवै स्थानमा ग्यास लिन आउने उपभोक्ताको संख्या उपलब्ध सिलिन्डरभन्दा दोब्बर रहेकाले अपुग उपभोक्तालाई कुपन दिएर फर्काइएको विक्रेताले बताएका छन्।
सयपत्री सप्लायर्सकी सञ्चालक निरा राईले ३५० थान सिलिन्डर आएको भए पनि ५०० भन्दा बढी उपभोक्ता लाइनमा रहेको बताइन्। ग्यास आएपछि सुरक्षा तथा वितरणको सम्पूर्ण जिम्मेवारी प्रहरीले लिने गरेको उनले बताइन्।
उनका अनुसार ग्यास बोकेको गाडी प्रहरीको निगरानी र निर्देशनमा आएपछि आफूहरूले एक थान सिलिन्डर मात्र राखेर बाँकी वितरण गर्ने गरिएको छ।
यता, रमाइलो पल सप्लायर्सले प्राप्त ८६० सिलिन्डरमध्ये ५०० थान मात्र डिलरबाट वितरण गरेको जनाएको छ। बाँकी सिलिन्डर सबडिलरलाई दिइएको सञ्चालक माधव बानियाँले बताए। उनका अनुसार १५ दिनअघिदेखिका कुपनवालालाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको थियो। त्यसपछि लाइनमा बसेका उपभोक्तालाई क्रमशः वितरण गर्दै जाँदा ग्यास अपुग भएपछि बाँकीलाई कुपन दिएर फर्काइएको हो।
बानियाँले डिलरले रकम बुझ्ने र कुपन लेख्ने काम मात्र गरेको तथा ग्यास वितरणको सम्पूर्ण काम सुरक्षाकर्मीको निगरानीमा भएको बताए।
त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार कोशी ग्यास कम्पनीले बुधबार उदयपुरका लागि १ हजार ८७० थान सिलिन्डर पठाएको थियो। तीमध्ये गाईघाटका रमाइलो पल र सयपत्री सप्लायर्स तथा जलजलेस्थित एसपी इन्टरप्राइजेज र देउरीस्थित बी एन्ड सी सप्लायर्समा वितरण गरिएको थियो। जलजले र देउरीका बिक्रेताले ३३०–३३० थान सिलिन्डर पाएका थिए।
गाईघाटमा विभिन्न कम्पनीका नौ प्रकारका ग्यास बिक्री हुने गरेको श्रेष्ठले बताए। उनका अनुसार कोशी, नारायणी, कामाख्या, नोबेल, रिजालको, सुपर, प्रिमा, सुप्रिम र कन्काई ग्यास बिक्री हुँदै आएका छन्।
उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति हुन नसकेपछि त्रियुगा उद्योग वाणिज्य संघले अबदेखि गाईघाटका लागि प्रत्येक साता ५ हजार थान सिलिन्डर पठाइदिन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको जनाएको छ।
प्रकाशित: २७ श्रावण २०८३ २१:१५ बुधबार



