समाज

सुनाकोठीमा हरितगृह परियोजना सञ्चालनमा

ललितपुरको सुनाकोठीमा दक्षिण कोरियाको सहयोगमा निर्माण गरिएको आधुनिक हरितगृह परियोजना सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रममा दक्षिण कोरियाली राजदूत पार्क थेयङले उक्त परियोजनाको उद्घाटन गरेका हुन्।

ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छरओन गुन शहरको आर्थिक सहयोगमा निर्माण गरिएको यस परियोजनाले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा छरओन गुनका मेयर ली ह्यनजोङले नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आधुनिक कृषि प्रविधि, फोहोर व्यवस्थापन र शहरी विकासका क्षेत्रमा सहकार्य गर्ने योजना रहेको बताए।

हरितगृह प्रविधिले विशेषगरी स्थानीय महिला किसानहरूलाई बेमौसमी तरकारी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, कृषकहरूलाई आवश्यक तालिम तथा प्रविधि हस्तान्तरणमा समेत जोड दिइने जनाइएको छ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले परियोजनाले कृषि क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने बताए। उनले यसबाट स्थानीय किसानहरूको आम्दानी वृद्धि हुनुका साथै महिला सशक्तीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कोरियाली तथा नेपाली अधिकारीहरू, किसान समूहका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १२ चैत्र २०८२ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App