वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव स्वदेश ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन्। सांसद तामाङका अनुसार आवश्यक सबै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र राईको पार्थिव शरीर नेपाल आइपुग्नेछ।
सरकारले नै शव ल्याउने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेपछि यसअघि सुरु गरिएको आर्थिक सहयोग अभियान तत्कालका लागि बन्द गरिएको उनले जनाएकी छन्। अब थप आर्थिक सहयोग रकम नपठाउन उनले आग्रह गरेकी छन्।
यसअघि संकलन भई मृतक राईकी श्रीमतीको बैंक खातामा जम्मा भइसकेको सहयोग रकम भने काजक्रिया खर्च तथा उनका छोराछोरी र वृद्ध बुबाको लालनपालन एवं हेरचाहमा प्रयोग गरिने सांसद तामाङले सुनाइन्।
लामो समयदेखि अलपत्र परेको शव स्वदेश ल्याउने जिम्मेवारी लिएर प्रक्रिया अघि बढाएकोमा सांसद तामाङले नेपाल सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेकी छन्।
साथै, सन्तोष राईको शव ल्याउन आर्थिक सहयोग गर्ने, सामाजिक सञ्जालमा पोस्ट सेयर गर्ने र दबाबमूलक आवाज उठाउने देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति उनले हार्दिक आभार प्रकट गरेकी छन्।
प्रकाशित: ३ भाद्र २०८३ २१:३५ बुधबार