रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ७९ जना सुरक्षाकर्मी तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएको र हालसम्म ९ जनाको शव फेला परेको सरकारले जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बाढीग्रस्त क्षेत्रमा सुरक्षाकर्मी र कर्मचारीहरू सम्पर्कविहीन भएको संसद्लाई जानकारी दिएका हुन्।
यसअघि गृहमन्त्री सुधन गुरुङले सदनलाई जानकारी गराउने कार्यसूची रहे पनि उनी विपद् व्यवस्थापनमा व्यस्त भएपछि परराष्ट्रमन्त्री खनालले विवरण प्रस्तुत गरेका थिए।
मन्त्री खनालका अनुसार बाढीमा परेर नेपाली सेनाका ४४, नेपाल प्रहरीका २६ र सशस्त्र प्रहरीका ९ गरी कुल ७९ जना सुरक्षाकर्मी तथा सीमास्थित अध्यागमन कार्यालयका कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ९ जनाको शव फेला परेको भए पनि उनीहरूको पहिचान हुन बाँकी छ।
बिहान ८:३७ बजे त्यस क्षेत्रमा भूकम्प गएको र त्यसलगत्तै झरेको हिमपहिरोका कारण ८:४० बजेतिर भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको मन्त्री खनालले बताए। यद्यपि यसको प्राविधिक पुष्टि हुन बाँकी छ। बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ।
यसैबीच, विपद्को अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले संकटको यस घडीमा सबैलाई आ-आफ्नो ठाउँबाट खोजी, उद्धार र राहतमा जुट्न अपिल गरेको मन्त्री खनालले बताए।
सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर आवश्यक राहत र उद्धारका निर्णयहरूसमेत गरिसकेको संसद्लाई जानकारी गराइएको छ।
प्रकाशित: १० भाद्र २०८३ १६:२० बुधबार