भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ।
बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो।
मन्त्री घिसिङले कार्य क्षेत्रमा खटिएका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौंसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने ‘लाइफ लाइन’ का रूपमा रहेको यो सडकलाई जति सक्दो चाँडो सञ्चालन हुने गरी काम गर्न आग्रह गरेका छन्।
गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे - नेपालथोक खण्डमा क्षति भएको थियो। उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले चार किलोमिटर जति पुनः बगाएको छ।
गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छ भने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ।
प्रकाशित: २३ आश्विन २०८२ १०:५१ बिहीबार