समाज

कोशीमा लिम्बु र मैथिली भाषालाई सरकारी मान्यता, नयाँ विधेयक स्वीकृत

कोशी प्रदेशमा लिम्बु र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरिएको छ। भाषा आयोगले दिएको निर्देशनअनुसार कोशी प्रदेश सरकारले लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने तयारी गरेको हो।

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो। विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछ। महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा ल्याइने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए। 

यस्तै बैठकले प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको छ। प्रदेशको नाममा स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए। यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो।

प्रकाशित: १७ श्रावण २०८२ १९:५७ शनिबार