जेन जी अर्थात् जेनेरेसन जेड वा जी पुस्ता (जसलाई जुमर्स पनि भनिन्छ ।) वाई पुस्तापछि र अल्फा पुस्ताअघि रहेको एक जनसंख्यात्मक वर्ग हो । अध्ययन अनुसन्धानअनुसार जेन जीका लागि सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूलाई यो पुस्ताका रूपमा निर्धारण गरिएको छ । यसले अधिकांश अवस्थामा जेनेरेसन जी शब्दले सामान्यतः सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई बुझाउँछ । अध्ययन–अनुसन्धानअनुसार जनरेसन जीका धेरै सदस्य तुलनात्मक रूपमा जेनेरेसन जोन्स वा जेनेरेसन एक्सका सन्तान हुन् ।
सानो उमेरबाटै इन्टरनेट र पोर्टेबल डिजिटल प्रविधिको पहुँचमा हुर्के–बढेका पुस्ताका रूपमा जेन जीलाई लिन सकिन्छ, जसकारण जेन जीका सदस्यहरूलाई डिजिटल नेटिभ्स पनि भन्ने गरिएको भए पनि यीमध्ये सबैजना डिजिटल रूपमा साक्षर नहुन पनि सक्छन् । यो पुस्ताले डिजिटल स्क्रिनमा बढी समय बिताउने गरेकाले यसका सकारात्मक र नकारात्मक प्रभाव बालबालिकादेखि किशोर–किशोरीसम्म पनि देखा परेको छ ।
जेन जी पुस्ता दश माग राखी आन्दोलनमा
जेन जी पुस्ता पछिल्लो समय स्वदेशमै बसेर नेट र इन्टरनेट प्रयोग गरी सामाजिक सञ्जालकै माध्यमबाट जीविकोपार्जन गरी आफू र आफ्ना परिवार पालनपोषण गरिरहेको अवस्थामा सरकारले एक्कासि बन्द गरिदिँदा उनीहरू आक्रोशमा आएका हुन् ।
बन्द गरिएका सबै सामाजिक सञ्जाल खोल्नुपर्ने, सरोकारवालासँग छलफलै नगरी राज्यले एकलौटी तरिकाले निर्णय लिने क्रम बन्द गर्नुपर्ने, सामाजिक सञ्जाल बन्द गरेपछि त्यसबाट पर्ने आर्थिक र मानसिक क्षति र समस्याबारे सरकार जवाफदेखि हुनुपर्ने, वाक् स्वतन्त्रताको अधिकार प्रत्याभूति हुनुपर्ने, देशको न्यायपालिकामा हुने नियुक्ति राजनीतिमुक्त हुनुपर्ने, देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, ६५ वर्ष पुगेकाले राजनीतिबाट अवकाश लिनुपर्ने, शक्ति र सत्तामा भएका सबैको सम्पत्तिको स्रोत खुल्नुपर्ने, भ्रष्टाचारविरुद्ध उजुरी गर्ने ठोस निकाय हुनुपर्ने र उजुरी परेको ४५ दिनभित्र छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको अधिकारी सुरक्षित हुनुपर्नेलगायतका दश माग राखी जेन जी पुस्ता आन्दोलनमा उत्रिएको हो ।
भौतिक रूपमा खेलकुद गर्नु, आफन्तजनसँग कुराकानी गर्नु र पारिवारिक वातावरणभन्दा पनि नेट र इन्टरनेट दुनियाँलाई नै सबैथोक मान्ने पुस्ता हो जेन जी । यसका केही नकारात्मक पक्ष रहे पनि सकारात्मक पक्ष धेरै छन् ।
सोमबारको आन्दोलनमा पनि युवा पुस्ताको आक्रोश यही सामाजिक सञ्जाल बन्द भएरै हो । राज्य र सरकार भनेको अभिभावक हो । युवाहरूको आन्दोलनलाई अभिभाकत्वका रूपमा राज्यले संयमतापूर्ण ह्यान्डल गर्नुपर्नेमा जोडबल गरेरै गृहमन्त्रीले मन्त्रालयको निर्देशनमा गोली प्रहार गर्न लगाउनु न्याय उचित भने होइन । किनभने यी युवासँग हातमा कुनै हातहतियार भने कदापि थिएन । उनीहरू आफ्ना भविष्यका लागि सडकमा उत्रिएका थिए तर सरकारका गृहमन्त्री र तिनका प्रहरीले किन गोली चलाउन निर्देशन दिएको भन्ने चौतर्फी आलोचना भइरहेको छ ।
युवाहरू स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् । सामाजिक सञ्जाललाई आधार बनाएर युवाहरू दिनरात केही न केही सृजनात्मक र कमाउने माध्यम बनाएका युवाहरूलाई सामाजिक सञ्जाल बन्द हुनु केही असह्य हुनु स्वाभाविक हो । यो कुरा बुझेर राज्यले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै गोली हान्ने निर्देशन दिएर गृह मन्त्रालयले अभिभावकत्वबाट चुकेको छ । निर्दोष युवामाथि अन्याय गरेको छ । तिनका अभिभावकलाई रुवाएको छ ।
अघिल्लो पुस्ताको तुलनामा जेन जीका सदस्यहरूले आफ्ना पूर्ववर्तीहरूको तुलनामा ढिलो जीवनयापनका उपाय पत्ता लगाउने गरेको पाइन्छ । जेन जीका किशोर–किशोरी अघिल्ला पुस्ताहरूको तुलनामा एकेडेमिक प्रदर्शन र रोजगारका अवसरमा बढी चिन्तित हुन्छन् । यी पुस्ताका सदस्यहरूबिच सेक्सटिङको (डिजिटल यौन सामग्रीको आदानप्रदान) चलन बढेको पाइन्छ यद्यपि यसको परिणाम अझै राम्रोसँग बुझिएका छैन ।
विश्वव्यापी प्रमाणअनुसार जेन जीका किशोरी यौवनमा प्रवेश गर्ने औसत आयु २०औँ शताब्दीसँगको तुलनामा अत्यधिक घटेको छ, जसको प्रभाव उनीहरूको स्वास्थ्य र भविष्यमा परेको देखिन्छ । यसका साथै जेनेरेसन जीका किशोर–किशोरी र युवाहरूमा एलर्जीको प्रकोप सामान्य मानिसको तुलनामा बढी पाइन्छ ।
जेनेरेसन जीका मानिसमा रोग र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा थप जागरूकता निम्त्याउँदा अनिद्राको घटना अधिक रिपोर्ट गरिन्छ । धेरै देशमा जेनेरेसन जीका युवाहरूमा बौद्धिक असक्षमता र मानसिक समस्याहरूको पहिचानको सम्भावना अघिल्लो पुस्ताको तुलनामा बढी छ ।
विश्वव्यापी रूपमा जेनेरेसन जीका सदस्यहरू पूर्ववर्ती पुस्ताको तुलनामा इलेक्ट्रोनिक उपकरणमा बढी समय व्यतीत गर्दै आएको र किताब पढ्नेमा कम समय दिइरहेको पाइन्छ, जसको प्रभाव उनीहरूको ध्यानको स्थायित्व, शब्दभण्डार, शैक्षिक प्रदर्शन र भविष्यका आर्थिक योगदानमा पर्न आएको छ । एसियामा सन् २००० र सन् २०१० को दशकमा शिक्षकहरूले सामान्यतः उत्कृष्ट विद्यार्थी पहिचान गरेर उनीहरूको सुधारमा ध्यान दिएका थिए, तर यस विपरीत पश्चिमी युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर प्रदर्शन गर्नेहरूमा विशेषगरी ध्यान केन्द्रित गरिएको थियो । सन् २०१० का दशकमा पूर्वएसियाली सिंगापुरका विद्यार्थीहरू अन्तर्राष्ट्रिय मानकको परीक्षामा निरन्तर रूपमा शीर्षस्थान हासिल गर्दै आएका छन् ।
आन्दोलनले तनावमा स्कुल, विद्यार्थी र अभिभावक
आन्दोलनका कारण अस्तव्यस्त बनेका सवारीका कारण विद्यार्थीहरू विद्यालय छुटेर विद्यार्थीहरू समयमै घर फर्कन नपाएपछि अभिभावक र विद्यार्थी सोमबार तनावमा नै रहे । कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरू स्कुल छुटी भएर कोही घर फर्केका छन् त कोही बिच बाटोमै अल्झिन पुगेका थिए । आफ्ना सन्तान कतै जेन जीको आन्दोलनमा पो गयो कि भन्ने चिन्तामा थिइन् कालिमाटीकी अस्मिता श्रेष्ठ । आफ्नी छोरी कक्षा ११ सकेर सोमबार दिउँसो घर नफर्किएपछि तनावमा थिइन् उनी ।
‘धन्न फोन गरेर सोधेपछि छोरी साथीकहाँ बसेको थाहा पाएपछि सन्तोषको सास फेरेँ’, अस्मिताले भनिन्, ‘छोरीका साथीहरू आन्दोलनमा जाने भन्दै थिए । कतै छोरी पनि गइन् कि भन्ने ठूलो चिन्तामा थिएँ’, उनले नागरिकसँग भनिन्, ‘हिजोआजका बालबालिकाको पढाइ र कमाइ सामाजिक सञ्जाल र नेटबाटै हुँदो रहेछ । स्कुलले पनि नेटबाट खोजेर पढ भन्छन् । यतिबेला सामाजिक सञ्जाल नै बन्द गरिदिएर बालबालिकालाई तनाव दिएकै कारण आन्दोलन भएको हो ।’ उनले आक्रोश पोखिन्, ‘सरकार भनेको त अभिभावक हो । युवायुवती आन्दोलनमा शान्तिपूर्ण रूपमा लागेका थिए । पछि के भयो थाहा भएन, तर यतिमै गृह प्रशासनले निहत्था युवामाथि गोली चलाउने निर्देशन दिनु निन्दनीय छ । राज्यले युवाहरूलाई संरक्षण पो गर्ने हो, मार्ने होइन नि ।’
सोमबारको आन्दोलनको असरका कारण मुख्यरूपमा अभिभावक, विद्यार्थी र विद्यालयहरू चिन्तित बनेका छन् । प्रहरीले समेत विद्यालयमा फोन गरी विद्यार्थीलाई विद्यालयमा होल्ड गर्न लगाएको थियो । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन स्कुलका प्रिन्सिपल हेरम्बराज कँडेलले अभिभावकलाई बोलाएर बालबालिका जिम्मा लगाएको बताए ।
‘गाडी चलेको छैन । अस्तव्यस्त छ’, प्रअ कँडेलले नागरिकसँग भने, ‘अभिभावक फोन गरेर चिन्तित हुनुहुन्छ भने प्रहरीले पनि स्कुलमै बच्चा होल्ड गर्न भनेको छ । यसकारण आउने अभिभावकलाई बच्चा जिम्मा लगाएर पठाए । स्कुलका शिक्षक, अभिभावक र बालबालिका सबै तनावमा छन् ।’ उनले चिन्ता व्यक्त गरे, ‘जेन जी आन्दोलन किन र कसरी हिंस्रक बन्यो ? पत्ता लगाउनुपर्छ । युवाहरू निहत्था आन्दोलन गरिरहेका थिए । तुरुन्तै गोली चल्नु र युवाहरू गोली लागेर मृत्युवरणले देश र जनतालाई रुवाएको छ । यो गलत भयो । राज्य सरकार र गृह प्रशासनले संयमता अपनाउनुपर्थ्यो ।’
प्याब्सनका अध्यक्ष एवं भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्ण अधिकारीले पनि सोमबार दिनभरजसो बालबालिका तनावमै रहेको बताए । ‘विद्यार्थीलाई बेलुकासम्म स्कुलमै राखियो । कतिपय अभिभावकलाई बोलाएर बालबालिका जिम्मा लगाइयो’, अध्यक्ष अधिकारीले नागरिकसँग भने, ‘देशको परिस्थितिलाई मध्यनजर गर्दै निजी विद्यालयहरूको अबका सबै आन्दोलन स्थगित गरियो ।’ उनले थपे, ‘जेन जी पुस्ता भनेको देशको युवा र दक्ष जनशक्ति हो । आन्दोलनमा रहेको निहत्था जेन जी युवा पुस्तामाथि गृह मन्त्रालयले गोली चलाउने दिएको निर्देशनले उनीहरूमाथि अन्याय भएको छ । यसले युवा पुस्तालाई थप त्रसित बनायो । देश छाड्न बाध्य बनायो ।’ उनले अवस्था हेरेर मात्र मंगलबार विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे भन्न सकिने जनाए ।
यसैगरी काठमाडौं प्याब्सनले भदौ २४ र २५ गते निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक तहको परीक्षा पनि स्थगित गरेको छ ।
प्रकाशित: २४ भाद्र २०८२ ०७:३२ मंगलबार