समाज

रसुवा, त्रिशूली क्षेत्रमा आज मौसमको साथ : घाम लागेकाले उद्धारमा सहज

रसुवा र त्रिशूली आसपासका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बिहीबार मौसममा सुधार आएपछि उद्धार तथा राहत कार्यमा केही सहजता भएको छ। प्रभावित क्षेत्रमा घाम लागेकाले सुरक्षाकर्मी तथा उद्धार टोलीलाई खोज तथा उद्धारका काम अघि बढाउन सहज भएको हो।

प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन भएर उद्धारको काम जारी राखेका छन्। नेपाली सेनाले समन्वय गरी हेलिकोप्टरबाट उद्धारको काम भइरहेको छ । निजी क्षेत्रका हेलिक हेलिकोप्टरको परिचालनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । प्रभावित क्षेत्रमा भएको सम्पर्क र उद्धारको आवश्यकता हेरी हेलिकोप्टरको परिचालन भइरहेको छ । सम्पर्कमा आएका व्यक्ति र उनीहरूको अवस्थालाई प्राथमिकतामा राखेर सेनाले उद्धारको काम अघि बढाएको छ ।  

उद्धार टोलीका अनुसार जो व्यक्ति सम्पर्कमा आउन सकेका छन्, उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ। अझै कतिपय स्थानमा भने सञ्चार सम्पर्क स्थापित हुन नसक्दा प्रभावितहरूको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।

बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा चुनौती थपिएको थियो। केही स्थानमा बिहीबारदेखि बिजुली सेवा पुनः सञ्चालनमा आउन थालेको छ। विद्युत् आपूर्ति नहुँदा मोबाइल टावरका ब्याकअप प्रणालीसमेत सकिएपछि फोन तथा इन्टरनेट सेवा प्रभावित भएका थिए।

मोबाइलमा चार्ज गर्न नसक्दा सर्वसाधारणसमेत सम्पर्कविहीन हुने अवस्था बनेको छ। विद्युत् आपूर्ति क्रमशः सुरु हुन थालेसँगै फोन, इन्टरनेट र मोबाइल सञ्चार सेवा पनि विस्तारै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

मौसममा आएको सुधारले हेलिकोप्टरमार्फत उद्धार तथा प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्‍याउनसमेत केही सहज भएको छ। यद्यपि भौगोलिक कठिनाइ र सञ्चार सम्पर्कको अभावका कारण सबै प्रभावित क्षेत्रमा तत्काल पुग्न चुनौती कायमै रहेको उद्धारमा संलग्न टोलीले जनाएको छ।

उद्धार टोलीले प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कमा आउन सक्ने व्यक्तिहरूलाई उपलब्ध सञ्चार माध्यमबाट जानकारी गराउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३ १६:४५ बिहीबार