समाज

खसीको भन्दै बाख्राको मासु बेच्ने तीन पसल कारबाहीमा

विराटनगर महानगरपालिकाले बजार अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बिक्री गर्ने तीनवटा मासु पसलबाट २५ किलो मासु बरामद गरी नष्ट गरेको छ।

उपभोक्ताबाट ठगी भएको गुनासो आएपछि बिहीबार महानगरको अनुगमन टोलीले विराटनगर-९, पुरानो गुद्री क्षेत्रका मासु पसलहरूमा छापा मारेको थियो।

विराटनगर महानगरपालिका पशुपंक्षी महाशाखा प्रमुख हीरालाल यादवका अनुसार, मासु पसलहरूले मापदण्ड पूरा नगरेको र खसीको भनेर बाख्राको मासु बेचेर उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि अनुगमनलाई तीव्र पारिएको हो।

अनुगमनका क्रममा पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोही क्षेत्रका सोहराव कुरेसी र न्यू जावेद मासु पसलबाट ५–५ किलो गरी जम्मा २५ किलो बाख्राको मासु बरामद गरिएको यादवले जानकारी दिए। बरामद गरिएको सम्पूर्ण मासु तत्कालै नष्ट गरिएको थियो।

यसैगरी, अनुगमन टोलीले विराटनगर–९ स्थित मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस तथा विराटनगर–११ का करिया मिट सेन्टर र कञ्चन फ्रेस हाउसलाई पनि सचेत गराएको छ।

उनीहरूका पसलमा सरसफाइ र मापदण्डमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सुधार गर्न निर्देशन दिइएको महाशाखा प्रमुख यादवले बताए।

प्रकाशित: १५ श्रावण २०८२ २०:२२ बिहीबार