सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।
उनकाअनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो। 'वडाका २० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेका छौँ', माङ्गपाहाङ्गले भने, 'आमा र बच्चाको स्वास्थ्यमा ध्यानमा राखेर सामग्री दिएका हौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । कार्यक्रमले सुत्केरी र बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने अपेक्षा लिएका छौँ।'
सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतनामूलक सन्देश पनि दिइएको छ । रासस
प्रकाशित: ८ भाद्र २०८२ ०९:३१ आइतबार