सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र देशव्यापी भ्रष्टाचारविरुद्ध सुरु भएको ‘जेन-जी’ पुस्ताको आन्दोलन देशका अन्य भागमा जस्तै कालिकोटमा पनि सशक्त रूपमा देखिएको छ।
सोमबार दिउँसो कालिकोटका युवाहरूले सदरमुकाम मान्ममा प्रदर्शन गर्दै स्थानीय नेताहरूको जीवनशैली र सम्पत्तिमाथि प्रश्न उठाएका छन्।
‘नेपो किड्स’ (नेताका सन्तान) को विलासी जीवनशैलीविरुद्ध सामाजिक सञ्जालमा सुरु भएको बहसमा ऐक्यबद्धता जनाउँदै कालिकोटका युवाहरू विभिन्न प्लेकार्ड बोकेर सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी अभियान समर्थक युवा जीवन शाहीले भ्रष्टाचारले नेता र जनताका परिवारबीच ठूलो आर्थिक खाडल बनाएको बताए।
उनले विशेषगरी सांसद महेन्द्रबहादुर शाहीले आफ्नी छोरीलाई अमेरिकामा पढाएको विषयमाथि प्रश्न उठाए। शाहीले आक्रोशित हुँदै भने, ‘भ्रष्टाचार गरेको पैसामा ऐश आराम गरिरहेका सबै नेताको सम्पत्ति छानबिन गर्न जरुरी छ।’
उनले अहिले सर्वसाधारणका छोराछोरीले सामान्य स्कुल पढ्न समेत नसक्ने अवस्था रहेको उल्लेख गर्दै अब छोराहरूले ‘बा’ (नेताहरू) लाई सम्झाउने बेला आएको सुनाए।
अर्का अभियान्ता हिक्मतजंग मल्लले देशमा अथाह भ्रष्टाचार हुँदा पनि सरकार मुखदर्शक बनेको आरोप लगाए। उनले देशैभरका युवाहरूलाई भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउन आग्रह गरे।
प्रदर्शनकारीहरूले सदरमुकामको प्रतिमाचोकदेखि जिरोप्वाइन्टसम्म र्याली गरी पुनः प्रतिमाचोकमा आएर कोणसभा गरेका थिए।
प्रकाशित: २३ भाद्र २०८२ १८:३२ सोमबार