भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक २२ वर्षीय युवकको मृत्यु भएको हो। थप एक जना प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन्।
सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरे।
सोमबार दिउँसो प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाएको थियो।
घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब ७७ जना घाइते भएका छन्।
प्रकाशित: २३ भाद्र २०८२ १४:५३ सोमबार