गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको परेको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबीको सूचना आउने क्रम जारी रहेको छ। हालसम्म सम्पत्ति बिमा पाँच सय ९४, मोटर बिमा दुई हजार दुई सय नौ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा एक सय ४४, परिवहन बिमा ११ र अन्य बिमाका ३० वटा आवेदन परेको छ।
सबैभन्दा धेरै बिमा दाबी बागमती प्रदेशको रहेको छ। सो प्रदेशमा एक हजार छ सय आठ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। कोशीमा तीन सय ७७, मधेशमा तीन सय २३, गण्डकीमा दुई सय १९, लुम्बिनीमा दुई सय ५४, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय ८२ वटाको दाबी परेको छ। हालसम्म कूल दुई हजार नौ सय ८८ वटा बिमा दाबीको आवेदन परेको छ।
भौतिक क्षति धेरै भएकाले दाबीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी आवेदन परेको छ।
यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २३ करोड २४ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्युरेन्स कम्पनीमा दुई अर्ब ७९ करोड ६६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँ बराबरको बिमा दाबीको आवेदन परेको छ।
मुलुकभर १४ वटा निर्जीवन बिमा कम्पनीसहित चार माइक्रो इन्स्युरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ। रासस
प्रकाशित: १२ आश्विन २०८२ ०६:४५ आइतबार