गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले देशभरका कारागारबाट भागेका मध्ये ५ हजार ५४७ कैदी अझै फरार छन्।
गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागले फरार कैदीलाई कारागार फर्काउन प्रभावकारी कदम चाल्ने जनाएको छ। आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीलाई फर्काउन महत्त्वपूर्ण निर्णय गरेको विभागले बताएको छ। हालसम्म नौ हजार ८ कैदी कारागार फर्किएका छन्।
फरार कैदीको विवरण सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहित गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षा निकायमा पठाइनेछ। अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागजस्ता सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। फरार कैदीको विवरण विभागको वेबसाइटमा प्रकाशित हुनेछ।
जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराई कुनै सार्वजनिक सेवा लिन आएमा पक्राउ गरिनेछ। फरार कैदीको खोजी र पक्राउ अभियानलाई नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको विभागले जनाएको छ। रासस
प्रकाशित: २७ आश्विन २०८२ ०६:१४ सोमबार