समाज

गौरा पर्व : आज गौरादेवीको घरमा स्वागत

सुदूरपश्चिमको मुख्य पर्व गौराको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भित्री गौरा अर्थात् ‘ठुली गौरा’ भनिने यो दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिन्छन्।

‘व्रतालु महिलाहरूले बिहान नुहाइधोइ गरेर साँझ गौरालाई गौराघरमा भित्र्याउने चलन छ, स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आज अमुक्ताभरण सप्तमी भएकाले व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्छन्,’ उनले भने।

‘ठुली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्छन्। व्रतालु महिलाहरूले लगाउने विशेष धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाइ पूजाआजा गर्ने चलन छ। खेतबारीबाट साउ, अपामार्गलगायत वनस्पतिबाट प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ। तागाधारी पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले गौराको समयमा दुबधागो लगाउने परम्परा छ, पण्डित जयानन्द भट्टले बताए।

साँझ व्रतालु महिलाहरूले कुण्ड स्नान गर्छन्। आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले लगाउँछन्। नयाँ दुबधागो आज गौरादेवीमा चढाउने र भोलि अठ्यावाली सकिएपछि लगाउने परम्परा छ।

गौरापर्वको मुख्य दिन सप्तमीमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाहरूले राति मिठो खाना खाने चलन छ। मौलिक पर्वको रूपमा रहेको गौराको मुख्य दिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीमा महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्छन्।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन छ। सुदूरपश्चिममा दशैँभन्दा बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किन्छन्। रासस

प्रकाशित: १४ भाद्र २०८२ ०६:३७ शनिबार