सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व ‘गौरा’ को अवसरमा काठमाडौंको खुलामञ्च देउडाको लय र भाकामा गुञ्जिएको छ।
अध्ययन, रोजगारी र पेसा-व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णालीवासी परम्परागत पहिरनमा सजिएर हातमा हात समाउँदै देउडामा झुमिएपछि खुलामञ्चको माहोल उत्सवमय बनेको छ।
शुक्रबारदेखि सुरु भएको यो सांस्कृतिक महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। खुलामञ्चको खुला चौरमा महिला, पुरुष, युवायुवती तथा वृद्धवृद्धाहरू गोलाकार घेरा बनाएर आफ्ना मौलिक लोकभाका, सुखदुःख, प्रेम र समसामयिक सामाजिक विषयहरूलाई गीतमार्फत प्रस्तुत गर्दै देउडा खेलिरहेका छन्। देउडाको यो मनमोहक दृश्य हेर्न खुलामञ्चमा सर्वसाधारणको समेत बाक्लो उपस्थिति देखिएको छ।
अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका सुदूरपश्चिमका शमशेर रोकायाले गौरा पर्व धार्मिक अनुष्ठान मात्र नभई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिएको जीवन्त माध्यम भएको बताए।
उनका अनुसार प्रवासजस्तै बनेको राजधानीको व्यस्त जीवनमा यो पर्वले आपसमा सुखदुःख साटासाट गर्ने र सांस्कृतिक भावना साट्ने अमूल्य अवसर जुराइदिएको छ।
डोटीको गड्सेरा घर भई अध्ययनका लागि काठमाडौं आएका नवीन सार्कीले गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिमवासीलाई एकै ठाउँमा भेला गराएर आपसी आत्मीयता बढाएको अनुभव सुनाए।
रोजगारी र पढाइका कारण जन्मथलोबाट टाढा रहेकाहरू यसरी एकै थलोमा भेटिँदा गाउँघरको सम्झना ताजा हुनुका साथै भाइचारा झन् प्रगाढ बनेको उनको भनाइ छ।
धार्मिक आस्था र सांस्कृतिक परम्परा जोडिएको गौरा पर्वमा व्रतालु महिलाहरूले धान, साउँ, तिल, अपामार्गलगायतका वनस्पति प्रयोग गरी गौरा देवी (पार्वती) र महेश्वर (शिव) को प्रतिमा बनाएर विधिपूर्वक पूजाआजा गर्ने गर्दछन्।
यस पर्वमा ‘बिरुडा’ को विशेष धार्मिक महत्त्व रहने स्थानीय खिमादेवी विष्टले जानकारी दिइन्। मास, गहत, गहुँ, केराउ र चना/गुराँस गरी पाँच प्रकारका गेडागुडी मिसाएर तयार पारिएको बिरुडालाई प्रसादका रूपमा ग्रहण गर्ने, आफन्तमा बाँड्ने र पूजापछि टाउकोमा राखेर आशीर्वाद लिने परम्परा छ।
काठमाडौंमा आयोजित यस पर्वले मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा परम्पराको पुस्तान्तरण गर्न महत्त्वपूर्ण टेवा पुर्याएको सहभागीहरू बताउँछन्।
युवापुस्ताले आफ्नै भाषा, भेषभूषा, कला र संस्कारप्रति देखाएको यो उत्साहले राजधानीमा रहेका सुदूरपश्चिम र कर्णालीवासीलाई आफ्नो जरा र जन्मभूमिसँग अझ नजिक बनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ १९:३७ शनिबार