समाज

गरिमा ह*त्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

पीडित परिवारलाई दुई लाख राहत

बारा जिल्ला अदालतले जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको छ।

बुधबार (हिजो) मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काल पुर्पक्षको लागि दुई जना नाबालकलाई बाल सुधार गृह पठाउने र पीडितलाई दुई लाख राहत दिने आदेश दिएको बारा जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए।

अदालतले बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्था अनुसार उनीहरूलाई सुधार गृह पठाउँदै पीडित पक्षलाई तत्काल दुई लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन समेत आदेश भएको दाहालले जानकारी गराए।

उनका अनुसार पुर्पक्षको लागि परिर्वतीत नाम नरबस्ती (क) र कलम (क) गरि दुवै जनालाई बाल सुधार पठाइने आदेश दिइएको हो। सुधार गृह पठाउने आदेश दिएका मध्ये एक जना १६ अर्का १४ वर्षका रहेका छन्। बाल सुधार गृह पठाउने आदेश दिएका नाबालकहरूको परिवारको आर्थिक अवस्था कमजोर भएकाले पीडित परिवारलाई दिने राहत रकमलाई पीडित राहत कोषबाट उपलब्ध गराउने आदेश समेत भएको उनले जानकारी दिए।

अदालतमा सरकारी वकिल तथा जाहेरवालाका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले घटना गम्भीर अपराध भएकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गरेका थिए। योजनाबद्ध रूपमा बालिकाको अपहरण, बलात्कार र हत्या गरिएको भन्दै कारागार चलानको माग राखेका थिए। प्रहरी प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षण रिपोर्टको अध्ययनपछि न्यायाधीश अधिकारीले सुरक्षा र कानुनी प्रावधानलाई ध्यानमा राख्दै बाल सुधार गृह पठाउने निर्णय गरेको बताइएको छ।

नाबालकको हकमा २१ दिनभित्र अदालत पेश गर्नुपर्ने कानुनी प्रावधानका कारण सुरुमा दुई जनालाई मात्र अदालतमा उपस्थित गराइएको बारा प्रहरीले जनाएको छ। गरिमा हत्या प्रकरणमा प्रहरीले पक्राउ परेकाहरू माथि अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा रहेका जीतपुरसिमरा-१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरी, ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर र वडा नम्बर-२ का ३३ वर्षीय नवीन विक लगायत १० जनालाई एक दुई दिनमै अदालतमा पेश गर्ने तयारी गरिएको बारा प्रहरीले जनाएको छ।

गत साउन ३१ गते घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ २ गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाको शव फेला परेलगत्तै स्थानीय र पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दै देशभर विरोध प्रदर्शन गरेका थिए।

अनुसन्धानका क्रममा अस्पतालमा खिचिएको भिडियो सार्वजनिक भएपछि एक प्रहरी हवल्दारलाई थुनामा राखी अनुसन्धान अघि बढाइएको छ भने अन्य कर्मचारीमाथि पनि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ। गृह मन्त्रालयमा भएको सहमतिपछि भदौ ७ गते पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो।

प्रकाशित: २५ भाद्र २०८३ ०७:२४ बिहीबार