समाज

गरिमा चौधरीको अन्तिम संस्कार, बुवाले दिए दागबत्ती

सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।

बालिकाका बुवा मनोजले कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोलामा धार्मिक परम्पराअनुसार दागबत्ती दिएका हुन्।

काठमाडौंमा सहमति जुटेपछि बुवा मनोजले आइतबार कलैया अस्पतालबाट शव बुझेका थिए। गत मंगलबार रातिदेखि अस्पतालमा राखिएको बालिकाको शव यात्रा तथा अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सरोज निरौला र इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टलगायत उच्च सुरक्षा अधिकारी तथा परिवारका सदस्य उपस्थित थिए।

शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुनमा भएको कसुर र सजाय पुनरावलोकन गरी सुझाव दिन कानुन मन्त्रालयले ७ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी बालिकाको सालिक निर्माण गर्ने र तत्काल अन्तिम संस्कार गर्ने सहमति भएको थियो।

सहमतिपछि गत बुधबार बिहान ११ बजेदेखि आन्दोलनकारीले अवरुद्ध पारेको पथलैया-वीरगन्ज सडकखण्ड शनिबार राति १ बजेदेखि खुलेको छ।

दोषीलाई मृत्युदण्डको माग गर्दै पीडित परिवार र स्थानीय बासिन्दा आन्दोलित भएका थिए। गत साउन ३१ गते बिहान घरबाट हराएकी ती बालिकाको शव तीन दिनपछि घरभन्दा करिब डेढ सय मिटर दक्षिणतर्फको खाली घरमा अर्धनग्न अवस्थामा भेटिएको थियो।

घटना अनुसन्धानका क्रममा प्रहरीले पथलैया-वीरगन्ज रुटका म्याजिक चालक २४ वर्षीय प्रोग्रेस चौधरी, १६ वर्षीय सहचालकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका १६ वर्षीय बालकले बालिकालाई चकलेटको प्रलोभन देखाई एकान्तमा लगेर बलात्कारपछि डोरीले घाँटी कसेर हत्या गरेको बयान प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्।

प्रकाशित: ७ भाद्र २०८३ १६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App