बाराको सिमरास्थित तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारले १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा किटानी जाहेरी दर्ता गराएको छ।
मृतक बालिकाका बुवा मनोज चौधरीले शनिबार किटानी जाहेरी दर्ता गराएका हुन्। बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले पीडित परिवारबाट ८ देखि १० जनाविरुद्ध पूरक जाहेरी आएको र सोही आधारमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ। यसअघि जीतपुरसिमरा-२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परिसकेका छन् भने थप पक्राउ परेका अन्य दुई जनाको नाम प्रहरीले गोप्य राखेको छ।
पथलैयामा पूर्व-पश्चिम राजमार्ग ठप्प
यसैबीच, दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीय बासिन्दाले शनिबार पूर्व-पश्चिम महेन्द्र राजमार्गको पथलैया चोक पूर्ण रूपमा अवरुद्ध पारेका छन्।
चर्को घाममा छाता ओढेर सडकमा उत्रिएका प्रदर्शनकारीका कारण राजमार्ग ठप्प भएको छ भने काठमाडौं-वीरगन्ज आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन्।
राजमार्ग खुलाउन प्रदर्शनकारीसँग संवाद र सम्झाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले जानकारी दिए।
विगत पाँच दिनदेखि आन्दोलन जारी रहे पनि संघीय सरकारका जिम्मेवार मन्त्रीहरू घटनास्थलमा नआएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। यसअघि वीरगन्ज-पथलैया व्यापारिक मार्गअन्तर्गत सिमरामा प्रदर्शन गर्दै आएका उनीहरूले शनिबारदेखि आन्दोलन पथलैया केन्द्रित गरेका हुन्।
आन्दोलनकारीले प्रधानमन्त्री, गृहमन्त्री वा कानुनमन्त्रीमध्ये कम्तीमा एक जना घटनास्थलमै आएर घटनाको निष्पक्ष छानबिन र बालबालिकाको सुरक्षासम्बन्धी कानुन निर्माणको प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सडक अवरोधका कारण सयौं यात्रु तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन्।
प्रकाशित: ६ भाद्र २०८३ १६:५० शनिबार



