समाज

पर्यटकलाई प्रकृतिमै पुर्‍याउन बगैँचा

पोखराको लेकसाइड भन्नासाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ। जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड भइरहन्छ।

पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ। अझ भनौँ पोखरा पुग्ने हरकोही एक पटक लेकसाइड पुग्ने र फेवा तालमा डुंगा सयर गर्छन्।

अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूति गर्न पाउने भएका छन्। वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ। 

साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुने यहाँ पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ। बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदूषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ।  

एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन्।

‘सहरभित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,' उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो।'  

नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ। बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए।

बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ। कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ। बगैँचाले प्राकृतिक अनुकूलतालाई पहिलो प्राथमिकतामा राखेको छ। प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ।

महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन्। लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे। महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ। 

एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए। 'हातले बनाएका सामग्री राखेका छौँ,' थापाले सुनाए,' नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ। लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन्।'

पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ। यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ। समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन्। प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए। 

यहाँको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए। अन्त कतै उपलब्ध नहुने यस बगैँचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे। पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ। 

तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ। तालहरूमा शान्त बोटिङ र बगैँचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए। बगैँचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ।

प्रकाशित: ५ श्रावण २०८२ १०:३१ सोमबार

#NagarikNews