समाज

श्रृंखलाबद्ध हत्या र लुटपाट गर्ने चार जनाको गिरोह पक्राउ

ओखलढुंगा जिल्लामा श्रृंखलाबद्ध रूपमा हत्या तथा लुटपाट गर्दै आएको चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी अनुसन्धानबाट दुई फरक–फरक स्थानमा भएका बीभत्स हत्याका घटनामा  यही गिरोह संलग्न रहेको खुलासा भएको हो।

यही १५ गते बिहान करिब ८ बजे चिसंखुगढी गाउँपालिका–६, भदौरे गैरिगाउँस्थित किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो।

उनीहरूको कोदालो तथा अन्य धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको थियो। हत्या पश्चात् उनीहरूको शव गोठमा लगेर स्याउलाले छोपी पसल तथा कोठामा रहेको करिब एक लाख रुपैयाँ नगद, दुई तोला सुनका गरगहना र छ तोला काँचो सुन लुटपाट गरिएको थियो।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट संयुक्त टोली परिचालन गरिएको थियो। अनुसन्धानकै क्रममा अभियुक्तहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चिसंखुगढी गाउँपालिका–३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नं. ४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, सोही स्थानका ३० वर्षीय प्रकाश भुजेल र वडा नं. ८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन्।

प्रारम्भिक सोधपुछमा पक्राउ परेकाहरूले यसअघि पनि अर्को हत्या तथा लुटपाटमा संलग्न रहेको स्वीकार गरेका छन्। उनीहरूले गत असोज २६ गते राति सिद्धिचरण नगरपालिका–४, चार्खुमा खेती किसानी गर्दै बस्ने ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवाल (कार्की) लाई पनि बन्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। त्यहाँबाट पनि उनीहरूले नगद तथा सुनका गरगहना लुटपाट गरेको स्वीकारेका छन्। 

अनुसन्धानका क्रममा हत्या तथा लुटपाटमा प्रयोग गरिएका बन्चरो, कोदालो, खुकुरी, भरुवा बन्दुक, लुटिएको सुनबाट बनाइएको औँठी, रिचार्ज कार्ड तथा चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २० पुस २०८२ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App