आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भएपछि परिवारले शव बुझेको थियो। त्यसपछि आफन्त, शुभेच्छुक र स्थानीयवासीको उपस्थितिमा पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न गरिएको हो।
यसअघि गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरी वृत्त कालिमाटीमा ज्यानसम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराएका छन्। प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म कसैलाई पनि प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा घटनामा संलग्न व्यक्ति वा पक्षको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीका विभिन्न टोली परिचालन गरिएको छ। प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा थप प्रक्रिया अगाडि बढाइने जनाएको छ।
प्रकाशित: २९ असार २०८३ १६:५३ सोमबार

-600x400.jpg)

