नेपालमा जेनजी आन्दोलनमा देखिएको घटनाक्रमप्रति गान्धी मण्डेला फाउण्डेशन गहिरो दुःख व्यक्त गरेको छ।
लोकतान्त्रिक व्यवस्थामा युवा पुस्ताको आवाज र आकांक्षालाई जिम्मेवार राज्य, राजनीतिक दल तथा सरोकारवालाले सम्बोधन गर्न आवश्यक रहेको भन्दै असमझदारी, हिंसात्मक झडप र अशान्तिपूर्ण अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरेको हो।
राजनीतिक कारण उत्पन्न भएको यो अवस्थामा सबै पक्षलाई संयमित, जिम्मेवार र संवेदनशील भएर अघि बढ्न पनि गान्धी मण्डेला फाउण्डेशनले अपिल गरेको छ। हिंसा वा दमनबाट नभइ संवाद, सहकार्य र आपसी समझदारी र विश्वासमार्फत समाधान खोज्नुपर्ने बताएको छ।
गौतम बुद्धका सच्चा पवर्तक गान्धी र मण्डेलाको विचार र आदर्शले अहिंसा, शान्ति, मेलमिलाप र सामाजिक न्यायको बाटोमा अघि बढ्न प्रेरित गरेको भन्दै नेपाल सरकार, विपक्षी दल, नागरिक समाज, युवा र सम्पूर्ण सरोकारवालालाई शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको हो।
अब नेपालको भविष्य जेनजी पुस्ताको हातमा सुरक्षित रहने भन्दै उनीहरूको सशक्त सहभागिता, सिर्जनशीलतासँगै राष्ट्र निर्माणमा सकारात्मक भएर अघि बढ्नेमा विश्वास गरेको छ।
गान्धी मण्डेला फाउण्डेशनले शान्तिपूर्ण सहअस्तित्व, पारदर्शिता र सहकार्यको वातावरण सुदृढ गर्न निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रकाशित: २७ भाद्र २०८२ ०९:२० शुक्रबार