समाज

१० दिनसम्म बाँचिरहेको त्यो आशा, कुशको खरानी बनेर उड्यो !

‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र छटपटीबीच बितेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर टुङ्गिएको छ।

रसुवाको भोटेकोशी बाढीमा परेर भौतिक शरीरसमेत फेला नपरेपछि मोरङ बेलबारीका २३ वर्षीय अनोज धमलाको परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

यसअघि, अनोजसँगै बाढीमा बेपत्ता भएका उनका आफ्नै मामा सराटनगर-७ निवासी सोमनाथ कट्टेलको पनि बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो।

बेलबारी नगरपालिका-९ (नलबारी) का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज बेपत्ता भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ।

घरनजिकै नलबारी चोकमा सानो पसल चलाएर गुजारा गरिरहेका बुबा र क्यान्सर रोगसँग जुधिरहेकी आमाको सहारा अनोज र उनका दाजु अनिस थिए। दाजु अनिस स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँछन्।

बाढीलगत्तै भाइ बेपत्ता भएको खबर पाए पनि क्यान्सरपीडित आमा र वृद्ध बुबाले आघात खप्न नसक्ने डरले अनिसले एक सातासम्म कठोर मन बनाएर सत्य लुकाएका थिए।

‘मानसरोवर जाने क्रममा बाढी आएपछि भाइ पर्यटकसँगै चीनतर्फ पुगेको छ, नेटवर्क नभएर सम्पर्क नभएको मात्र हो,’ भन्दै उनले बुबाआमालाई ढाडस दिइरहे। तर, दिन बित्दै जाँदा भाइको कुनै अत्तोपत्तो नपाएपछि अन्ततः अनिसले आँसु थाम्न नसकेर परिवारलाई कठोर यथार्थ सुनाउन बाध्य भएका थिए।

स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका मेधावी युवा थिए। कोरियाली भाषा परीक्षा (इपिएस) उत्तीर्ण गर्न उनले इटहरीमा बसेर मेहनतका साथ अध्ययन गरेका थिए। परीक्षा उत्तीर्ण भए पनि कोटाभन्दा धेरै परीक्षार्थी पास भएका कारण उनको कोरिया उड्ने सपना तत्कालका लागि रोकिएको थियो।

त्यसपछि उनी आफ्नै मामा सोमनाथ कट्टेलले सञ्चालन गरेको ‘सम्राट टुर एण्ड ट्राभल्स’ मा काम गर्न थालेका थिए। पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीय स्थलहरू घुमाउने क्रममा यसपटक उनी मामासँगै तीर्थयात्री लिएर मानसरोवरतर्फ निस्किएका थिए। तर, रसुवा पुग्दा आएको भोटेकोशीको विनाशकारी बाढीले मामा-भान्जा दुवैलाई बगायो।

‘पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा यो अप्रत्याशित घटना भयो,’ अनोजका सानोबुबा राजन घिमिरेले भने, ‘हामीले साह्रै इमानदार र क्षमतावान् छोरा गुमाउनुपर्‍यो। यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्‍याएको छ।’

१० दिनसम्म छोरो घर फर्कने बाटो हेरेर बसेका वृद्ध बुबा र क्यान्सरसँग लडिरहेकी आमाले अन्ततः कुशको प्रतीकलाई नै छोराको अन्तिम रूप मानेर चित्त बुझाउनुपरेको छ।

प्रकाशित: २० भाद्र २०८३ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App